काठमार्डाैं, – नेपालको जलवायु कानून र नीति परिदृश्यमा सरोकारवालाबीच छलफल भएको छ । विश्व वातावरण दिवसका अवसरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सनएड नेपालले ‘नेपालको जलवायु कानून र नीति परिदृश्यको अनावरण र २० औं राष्ट्रिय सामाजिक लेखाजोखा’ कार्यक्रम गरेको हो ।
विश्वव्यापी जलवायु परिवर्तनले ल्याएको असर न्यूनीकरणका लागि प्रभावकारी काम गर्न नेपालमा पनि जलवायु परिवर्तन सम्बन्धी छुट्टै कानून आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् ।
सरकारले जलवायु परिवर्तनसँग जोडिएका थुप्रै कानून बनाए पनि जलवायु परिवर्तनले बढाएको चुनौती सामना गर्न छुट्टै कानून निर्माण गर्न आवश्यक भएको उनीहरूको भनाइ छ ।
प्रतिनिधि सभाकी सांसद रमा कोइराला पौडेलले जलवायु परिवर्तनले पारेको प्रभाव हेर्दा भावी पुस्ताका लागि गम्भीर भएर काम गर्ने बेला आएको र त्यसै अनुसार कानुन बनाउनुपर्ने बताइन् ।
सांसद पौडेलले जलवायु परिवर्तनको मुद्दालाई संसदभित्र प्रभावकारी ढंगमा उठाइने प्रतिबद्धता समेत जनाइन् ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तन सम्बन्धी विद्यमान कानून पर्याप्त नभएको र ती कानूनमा बाध्यकारी व्यवस्था समेत नराखिएको बताए ।
जलवायु वित्तमा पहुँच बढाउन तथा पिछडिएका समुदाय र महिलाले भोगिरहेका जलवायु सम्बन्धी समस्या समाधानका लागि चाल्नुपर्ने कदमका लागि छुट्टै कानून आवश्यक भएको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य सलोनी सिंहले जलवायु परिवर्तन क्षेत्रका नीति नियम र कानून केन्द्रिकृत ढाँचाको मात्र भएको बताइन्।
मुलुक संघीय प्रणालीमा गए पनि तल्लो तहसम्म प्रभावकारी काम गर्न सक्ने गरी कानून निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी नेपालमा बनेका कानून र नीतिबारे समीक्षा गर्दै त्यसमा गर्नुपर्ने सुधारबारे समेत छलफल गरिएको थियो ।
यसैबीच, एक्सन एड नेपालले जलवायु परिवर्तनको क्षेत्रलाई प्राथमिकता दिँदै तयार पारेको संस्थाको राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ ।
राष्ट्रिय रणनीति अनुसार सामाजिक न्याय, वातावरणीय दीगोपन र उत्थानशीलता लगायत क्षेत्रमा काम गर्ने लक्ष्य राखिएको संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले बताइन ्।
त्यस्तै, संस्थाले अघिल्लो वर्षको सबै आय व्ययको जानकारी गराएको थियो । २०२३ को आम्दानीको विवरण हेर्दा एक्सन एडले एक वर्षमा ४० करोडको आम्दानी गरेको छ । जस मध्य २६ करोड ५८ लाख २२ हजार नियमित आम्दानी गरेको छ भने दातृ संस्थाबाट १२ करोड ५४ लाख र अन्य आम्दानी स्वरूप १ करोड १७ लाख ५६ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
त्यस्तै खर्च भने ३६ करोड ९६ लाख रुपैयाँ बारावरको भएको छ जस मध्य कार्यक्रम तथा परियोजनामा ३० करोड १६ लाख ८७ हजार रुपैयाँ, कोष अभिवृद्धिमा १ करोड ४९ लाख ७९ हजार रुपैयाँ, सुशासनमा ४३ लाख ५३ हजार रुपैयाँ र प्रशासनिकतर्फ ४ करोड ४२ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया