काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ७३ वर्षीय मोदीका लागि प्रधानमन्त्रीको यो लगातार तेस्रो कार्यकाल हो ।
लगातार तेस्रो कार्यकालसम्म प्रधानमन्त्री बन्ने उनी भारतको दोस्रो नेता हुन् । यसअघि जवाहरलाल नेहरु लगातार तीन कार्यकाल प्रधानमन्त्री बनेका थिए । नेहरु १९५२, १९५७ र १९५२ मा भएका आम निर्वाचन जित्दै तीनपटक प्रधानमन्त्री बनेका थिए ।
लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि मोदी जेठ २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथ ग्रहण समारोह आज साँझ सवा सात बजे राष्ट्रपति भवनमा हुने छ । प्रधानमन्त्री मोदीको शपथ ग्रहण पछि मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । शपथ ग्रहण समारोह करिब ४५ मिनेट चल्ने छ ।
भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेको छ ।
गठबन्धनका अन्य दलहरुलाई नागरिक उड्डयन, कोइला, इस्पात लगायतका आकर्षक मन्त्रालय जिम्मा दिने तयारी छ । सरकार गठनमा निर्णायक भएका नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टीले आकर्षक मन्त्रालय पाउने भनिए पनि भागबण्डा सार्वजनिक भएको छैन । को–को मन्त्री बन्दैछन् भन्ने पनि अहिलेसम्म खुलाइएको छैन ।
मन्त्री पदको भागबण्डा मिलाउन राति अबेरसम्म अमित शाहको निवासमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेताहरुको बैठक बसेको थियो । अघिल्ला दिनहरुमा लगातार बैठक र छलफल भइरहेको थियो ।
प्रतिक्रिया