भोटेकोशीका बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी डिनर, १५ लाख उठाउने लक्ष्य

भोटेकोशीका बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी डिनर, १५ लाख उठाउने लक्ष्य

काठमाडौं एक्सप्रेस

लक्जेम्बर्ग : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्बर्गले भोटेकोशीका बाढीपहिरो पीडितको सहयोगार्थ साढे १० लाख रुपैयाँभन्दा बढी राहत पठाइसकेको छ। साथै, थप राहत संकलनका लागि गत १३ सेप्टेम्बरमा लक्जेम्बर्गमा विशेष ‘च्यारिटी डिनर’ आयोजना गरिएको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि एनआरएनए लक्जेम्बर्गले पूर्वघोषित तीज कार्यक्रम रद्द गरी त्यसलाई च्यारिटीमा रूपान्तरण गरेको थियो। “यस्तो विपत्तिको समयमा उत्सव मनाउनुभन्दा पीडितको घाउमा मलम लगाउनु हाम्रो कर्तव्य ठान्यौँ,” एनआरएनए अगुवा जितु थापाले भने।

अध्यक्ष दुर्गा केसी थापाका अनुसार भोटेकोशीका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सुरुमा १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यसअघि नै लक्जेम्बर्गस्थित नेपाली समुदायले एनआरएनएमार्फत १० लाख ५० हजार रुपैयाँ राहत नेपाल पठाइसकेको छ।

नेपालका पूर्वमानार्थ वाणिज्यदूत, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा बाढीपीडितको वर्तमान अवस्था, पुनःस्थापना र गैरआवासीय नेपालीको भूमिकाबारे गहन छलफल भएको थियो।

Logo