गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा राउत

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा राउत

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् ।

“गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ । यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष डा राउतले भने,“गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन् । अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ । त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु ।”

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा राउतको भनाइ थियो । उनले गणतन्त्र प्राप्ति पछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ, भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गरे ।

“विगतमा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल पुगेको थिएन । नागरिकहरु कुनाकाप्चामा छरपष्ट रुपमा बसेका थिए । सडकले नागरिकको सम्बन्धलाई जोडेको छ”, अध्यक्ष डा राउतले भने,–“भौतिक पूर्वाधारहरु थपिँदै गएका छन् । प्रादेशिक गौरवका योजना पनि बने । यि सबै यस अगाडिको शासनकालमा बन्न सकेका थिएनन । यसलाई राससद्वारा प्रदर्शित तस्बिरहरुले प्रष्ट पार्ने काम गरेको छ ।”

विगत दुई सय वर्षमा जति सडक सञ्जाल निर्माण गरिएको थियो त्योभन्दा कयौँ गुणा यो पछिल्लो ६, ७ वर्षमा तीन तहका सरकार आइसकेपछि बनेका उनले बताए । गाउँघरमा सडक, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत सेवा सुनिश्चित भएको सन्दर्भमा गणतन्त्रको सकारात्मक उपलब्धिप्रति खासगरी नयाँ पुस्ताले चासो राख्नुपर्ने अध्यक्ष डा राउतको भनाइ थियो ।

Logo