‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ ।

मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू–भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,” उनले भने, “यदि अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा बन्द गर्नेछौँ ।”

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । खानेपानी अभाव भइरहेको बेला तत्काल बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।

“हामीलाई परामर्शदाता र एसियाली विकास बैङ्कले मेलम्ची बन्द गर्नुपर्छ, नत्र आयोजनालाई मनसुनी विपत्तिले क्षति गर्छ भनिरहनुभएको छ,” उनले भने,“अहिले उपभोक्ताहरुले खानेपानीको सङ्कट भोगिरहेको अवस्थामा मेलम्चीको खानेपानीले केही राहत दिलाएको छ, तसर्थ जहिले वर्षा सुरु हुन्छ तहिले बन्द गर्छौं भनेर जवाफ दिएका छौँ ।”

Logo