संसद् बैठक चल्न दिन माओवादी सकारात्मक, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

संसद् बैठक चल्न दिन माओवादी सकारात्मक, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । यही विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन ।

संसदलाई विनाअवरोध सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरुसँग छलफलसमेत गरेका थिए । सो छलफलमा सभामुख घिमिरेले हिंसा शब्दमा अलमलिँदा अन्य विषयहरु ओझेलमा परेको भन्दै संसद बैठक सन्चालन गर्न दिन अनुरोध गरेका थिए ।

माओवादी केन्द्रका नेताहरुले भने योगेश भट्टराईले आवेशमा आएर बोल्दा गल्ती भएको भन्दै आत्मालोचना गर्नुपर्ने वा सभामुखले हिंसा शब्दलाई रेकर्डबाट हटाउनुपर्ने प्रस्ताव राखेका थिए । सभामुख घिमिरेले भने आफ्नो अधिकारको व्यवस्था र संसद सञ्चालनको विगतको अभ्यास अनुसार आवश्यक निर्णय लिने बताएका थिए ।

छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘हाम्रो प्रस्तावमा सभामुख सकारात्मक हुनुहुन्छ । अध्यक्ष पनि फर्किएकाले हामी आज बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

माओवादी केन्द्रका नेताहरु संसद बैठक चल्न दिन सकारात्मक भएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo