काठमाडौं, – अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी करिब पाँच जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए ।
मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । घट्टेखोलाले पुल नै भत्काएको छ ।
भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।
अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले डुंगा प्रयोग गरी जगाती लगायतका क्षेत्रबाट करिब ५० जनालाई उद्धार गरेको जानकारी दिए ।
नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम जारी राखेको छ ।
प्रतिक्रिया