ललितपुर- महालक्ष्मी नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई चाड पर्व खर्च वितरण गर्दै पूर्व स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरेको छ । महालक्ष्मी –८ लुभु सामुदायिक भवनमा मंगलबार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १२ हजार नगदसहित छातार दोसल्लाले सम्मान गरेको हो ।
महालक्ष्मी नगरपालिकाले विगतका वर्षहरु पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई चाड पर्व खर्च वितरण गरेको महालक्ष्मी नगरपालिकाका स्वास्थ्य प्रमुख हिमलाल ज्ञवालीले जनाकारी दिए । नगपालिकाको आफ्नै स्रोतमा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान स्वरुप हरेका वर्ष खर्च वितरण गर्दै आएको उनले बताए । उनका अनुसार गत वर्ष १० हजारका दरले वितरण गर्दै आएकोमा यस वर्ष दुई हजार थपेर १२ हजार दिइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूकै साथ सहयोगले नै स्वास्थ्य क्षेत्रमा महालक्ष्मी ललितपुर जिल्लाकै पहिलो नगरपालिका हुने मौका पाएको उनको भनाइ छ ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भूवन पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उदारणीय काम गर्दै आएको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेको नगर प्रमुख श्रेष्ठले भने, हालसम्म राम्रो काम गर्दै आउनुभएको छ, यसमा खोट लगाउने कहिँकतै खाली ठाउँ छैन । अझैपनि यसैरी नै गर्दै जानुहोला ।’ आउँदो वर्षमा पनि अझै यो भन्दा राम्रो काम गर्न उनले सुझाव दिए ।
महालक्ष्मी नगरपालिका स्वास्थ्य क्षेत्रमा पहिलो हुनु नै महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको उनले बताए ।

नगर उपप्रमुख लक्ष्मी महर्जनले स्वास्थ्य स्वयंसेविकाको योगदानले नै नगरपालिकाले स्वास्थ्यमा उल्लेख्य प्रगति हासिल गरेको बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाहरु घाम र पानी नभनेरै प्रत्येक दिन आफ्नो काममा बफादार भएर खटिदै आएको उपप्रमुख महर्जनले बताइन् ।
जनस्वास्थ्य निरीक्षक भरत बोहोराले सञ्चालन गरेको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलसहित स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता थियो ।
प्रतिक्रिया