ललितपुर- महालक्ष्मी नगरपालिका-८ लुभूस्थित वेस्ट विङ्ग माध्यमिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको यस विशेष अवसरमा विद्यार्थीहरूको कला, संस्कृति र शैक्षिक उपलब्धिलाई प्रस्तुत गर्दै विद्यालयले आफ्नो सशक्त उपस्थिति प्रमाणित गरेको छ।
विद्यालयले दुई सत्रमा सम्पन्न वार्षिकोत्सव समारोहमा १७१३ जनाको उपस्थिति थियो।
पहिलो सत्रमा कक्षा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूको ३२ कार्यक्रम प्रस्तुत गरिएको थियो । पहिलो सत्रमा प्रमुख अतिथिको रूपमा महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन रहनुभएको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो ।

दोस्रो सत्रमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले ३० कार्यक्रम प्रस्तुत गरे । दोस्रो सत्रका प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख र उपप्रमुखले विद्यालयले न्यून शुल्कमा उच्च गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल बाबुराज महर्जनले आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै स्थानीय र राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका खेल्ने योजना रहेको बताउनुभयो।
दोस्रो सत्रमा प्रस्तुत गरिएका कार्यक्रमहरूमध्ये मेचीदेखि महाकालीसम्मको संस्कृति र भेषभूषा झल्काउने प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रममा ५२१ विद्यार्थी, ७८ शिक्षक-कर्मचारी, १०४२ अभिभावक र १५० विशिष्ट अतिथि गरी कुल १७१३ जनाको सहभागिता रह्यो।
२०५७ सालमा १५७ जना विद्यार्थी र १५ जना शिक्षक कर्मचारीबाट सुरु भएको यस विद्यालयले २०६२ सालदेखि निरन्तर रूपमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै २०८० सम्म ५१३ जनालाई सर्वोत्कृष्ट नतिजा दिलाएको छ। त्यस्तै २०७५ सालदेखि कक्षा ११ मा बाणिज्य संकाय अध्यापन सुरु गरेको विद्यालयले ४८ जना विद्यार्थीलाई सर्वोत्कृष्ट नतिजा दिलाउन सफल भएको छ। २०७४ सालको एसईई परीक्षामा नेपाल प्रथमको सूचीमा पर्दै विद्यालयले विभिन्न सम्मानहरू प्राप्त गरेको छ ।
विद्यालयले २०७५ सालको महालक्ष्मी नगरस्तरीय विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गर्नुका साथै जिल्ला र प्रदेशस्तरीय विज्ञान प्रदर्शनमा समेत सफलता प्राप्त गरेको थियो।
वेस्ट विङ्ग विद्यालयले आफ्नो शैक्षिक, सांस्कृतिक र सामाजिक योगदानका लागि सबैको मन जित्दै अगाडि बढ्न सफल भएको छ।
प्रतिक्रिया