झापा संवाददाता/ नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरस्थित रक्त सञ्चार केन्द्रमा ब्लड कम्पोनेन्ट मेसिन राख्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र झापा रेडक्रस सभापति लोकराज ढकालले भद्रपुरमा कम्पोनेन्ट मेसिन राख्ने सम्बन्धमा भएको छलफलले मूर्तरूप लिएको हो ।
केही दिनअघि मन्त्रालयमा मन्त्री दाहाल र सभापति ढकालबीच झापा रेडक्रसलाई उक्त उपकरण खरिद गर्नका लागि ६० लाख रूपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको छ । उपकरण खरिद गर्न मन्त्रालयले रकम निकासा गर्ने भएको हो । सभापति ढकालले मन्त्रालयसँग समन्वय गराउन भूमिका खेलेका संविधान सभा सदस्य प्रेम गिरीलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।
भद्रपुरमा २०३८ सालदेखि रक्तसञ्चार सेवा उपलब्ध हुँदै आएको सभापति ढकालले जानकारी दिए । उक्त केन्द्रमा ब्लड कम्पोनेन्ट मेसिन जडान गरेर सेवालाई अझ प्रभावकारी एवं फराकिलो बनाइने झापा रेडक्रसको तयारी छ । रक्तसञ्चार केन्द्र विर्तामोडमा पनि ब्लड कम्पोनेन्ट मेसिन राखिएको छ जहाँ रगतका विभिन्न तत्व निकालेर बिरामीको आवश्यकता अनुसार सेवा दिइने गरिन्छ ।
‘रगतको माग दिनप्रतिदिन बढ्दै गएको छ, रेडसेल, डब्लूबीसी र प्लेटलेस छुट्याउने मेसिन निकै नै उपयोगी हुन्छ’, सभापति ढकालले भने ,‘यसका लागि ब्लड कम्पोनेन्ट सेटअप मेसिनको आवश्यक हुन्छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर ल्याउँछौँ ।’
मेसिनबाट रगतभित्रबाट निकालिने तत्वलाई वर्गीकरण गरेर बिरामीहरूलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । जस्तो कि क्यान्सरका बिरामीका लागि प्लेटलेट्स, पोलाइ भएका बिरामीका लागि प्लाज्मा र शल्यक्रियाका बिरामी वा एनिमियाका लागि रेड ब्लड सेल्स आवश्यक पर्छ । त्यसका लागि क्पोनेन्ट मेसिनले वर्गीकरण गरेर एउटै रगतबाट त्यस्ता तत्वहरूलाई छु्ट्टाएर अन्य बिरामीहरूलाई पनि उपलब्ध गराउन मद्दत पुग्छ ।
यो मेसिनको प्रयोगबाट रगतबाट आवश्यक घटक मात्र लिने भएकाले रगतको बर्बादी कम हुने र आपतकालीन अवस्थामा पर्योग गर्न सकिन्छ । जस्तो की मेसिनबाट निकालिएको प्लेटलेट्स गम्भीर रक्तस्रावका लागि वा प्लाज्मा क्लटिङ समस्याका लागि उपभोग गर्न सकिन्छ । कम्पोनेन्ट मेसिनले प्लाज्मा र प्लेटलेट्सलाई पनि छुट्याउँछ । रगतमा भएको प्लेटलेट्स क्यान्सर उपचार गराउँदा गरिने किमोथेरापीमा प्रयोग हुने चिकित्सकहरू बताउँछन् ।
झापाका अस्पतालहरुमा दैनिक ५० देखि ६० पिन्ट रगत खपत हुने गर्छ । क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा जिल्लामा रगत धेरै नै खपत हुने गर्छ । यो वर्ष जिल्लाका यी रक्तसञ्चार केन्द्रबाट मात्रै साउन,भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको थियो । यसरी एउटै रगतबाट बिरामीहरूलाई आवश्यक पर्ने तत्वहरू निकाल्यन कम्पोनेन्ट मेसिन निकै नै उपयोगी हुने सभापति ढकाल बताउँछन् ।

जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ पिन्ट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ।
एक वर्षमा एक सय ३७ वटा रक्तदान कार्यक्रममार्फत ५ हजार ५८ स्वयंमसेवी रक्तदाताले रगत दान गरेका थिए । सो अवधिमा आठ हजार ५२ रक्तदाताले विर्तामोडको पञ्चकन्या, विएण्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रगत सो रगत दान गरेको झापा रेडक्रसले जनाएको छ ।
प्रतिक्रिया