चुरेमा आतंक मच्चाउने भेषराजको योग्यता नपुगेपछि अदालतबाट बर्खास्त

चुरेमा आतंक मच्चाउने भेषराजको योग्यता नपुगेपछि अदालतबाट बर्खास्त

काठमाडौं एक्सप्रेस

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई जना सदस्यलाई अदालतले बर्खास्त गरिदिएको छ । शैक्षिक योग्यता नपुगेको भन्दै उच्च अदालत पाटनले समितिका सदस्यद्वय भेषराज आचार्य र शशिकुमार शर्मालाई सदस्य हुन योग्‍य नरहेको फैसला सुनाएको हो ।

पुस ३ गते न्यायाधीश सुदर्शनदेव पाण्डे र टीकाराम आचार्यको संयुक्त इजलासले दुवैले एक-अर्काविरुद्ध हालेका रिटको सुनुवाइ गर्दै शैक्षिक योग्यता नपुग्ने भन्दै सदस्य हुन अयोग्य रहेको फैसला गरेको हो ।

२०७७ सालमा तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनीहरू नियुक्त भएका थिए । एमाले नेताहरुको घरदैलो गर्दै ‘चाकडी’ को भरमा समिति सदस्य भएका भेषराज आचार्यको आचरण निकै नै खराब रहेको त्यहाँ कार्यरत एक अधिकृतले बताए ।

ती अधिकृतका अनुसार भेषराजले चुरे विकास समितिका अध्यक्ष किरण पौडेलसँग झगडा गर्दै हातपातमा उत्रिएका थिए । उनीविरुद्ध पौडेलले उजुरी समेत दिएका थिए ।

‘केपी ओलीको मान्छे हुँ’ भन्दै समितिका पदाधिकारीहरूलाई धम्क्याउँदै उनले बैठकमा खराब रुपमा प्रस्तुत हुने गर्थे । समितिको बैठकहरूमा उनले जथाभावी बोल्ने गरेका अडियोहरू समेत सार्वजनिक छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले केही महिनाअघि उक्त घटनाबारे बुझ्न छानबिन समिति समेत गठन गरेका थिए । समितिले भेषराज आचार्यको बारेमा कैफियत निकालेको थियो ।

चुरे प्रवेश गरेदेखि नै भेषराजले आफ्नो कार्यकालभित्र करोडभन्दा बढी कमाउने भन्दै चुरेले सञ्चालन गर्ने कार्यक्रमहरूमा सिधै घुस माग्ने गरेको आरोप लागेको थियो । चुरेका अध्यक्ष पौडेलको सोझोपनको फाइदा उठाउँदै भेषराजले आतंक नै मच्चाउने गरेको आरोप छ ।

पाटन उच्च अदालतले फैसला गरेपनि भेषराज र शशिकुमार भने कार्यालयमा हाजिरी गर्दै भत्ता लिइरहेका छन् । राज्यमन्त्री सो सरह सेवा सुविधा, गाडी, तेल, चालक चुरेका पदाधिकारीले पाउँछन् ।

अदालतको फैसलाको लिखित प्रति कार्यालयमा आएपछि भेषराज र शशिकुमारलाई प्रवेश नै गर्न नदिने त्यहाँ कार्यरत एक कर्मचारीले बताए । ती कर्मचारीले भने,’चुरेको सदस्य भएर आएको दिनदेखि हामीलाई राम्रोसँग काम गर्न दिएको थिएनन् । योग्यता नपुग्‍ने मान्छे आएर जथाभावी गर्दै हिँड्दा हामीलाई धेरै दबाब भएको थियो । नेताको नाम लिएर सिधै हामीलाई धम्काउँथ्यो, अहिले अदालतको फैसलाले बल्ल ठाउँमा आइपुग्यो ।’

Logo