ललितपुर – जिल्लाको माहालक्ष्मी नगरपालिका – ६ को सिद्धिपुर स्थित नवकुञ्ज माध्यामिक विद्यालयले ३१ औँ अभिभावक दिवस मनाई सम्पन्न गरेको छ । हरेक वर्षजस्तै यस वर्ष फागुन ९ गते शुक्रबारको दिन विद्यालयले उक्त दिवस मनाएको हो ।
विद्यालयमा बालबालिकाले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेसँगै विज्ञान, गणित , सामाजिक विषयका सामग्री तथा रोबोटिक गाडी , डस्ट्बिन आदि प्रदर्शन गरेको प्रधानाध्यापक प्रेरणा खरेलले जानकारी दिईन् ।
प्रधानाध्यापक खरेलका अनुसार मोबाइलबाट चलाउन सकिने रोबोटिक गाडीमा धेरैको ध्यान केन्द्रित भएको थियो । विद्यार्थीको सिकाइलाई व्यवहारिक सिकाइमा रुपान्तरण गर्न विद्यालयको सानो प्रयास भएको उनले बताईन् ।
उनले विद्यार्थीले दैनिक सिकेको कुरालाई व्यवहारमा उतार्न सकिए मात्र शैक्षिक उपलब्धि हासिल हुने बताईन् । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीले हासिल गर्ने शैक्षिक उपलब्धिलाई केन्द्रमा राखेर विभिन्न योजनाहरु बनाइ रहेको उनको भनाई थियो ।
उक्त अवसरमा यस वर्षको उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी एवं विद्यालयका सम्पूर्ण शिक्षक–कर्मचारीलाई सम्मान समेत गरिएको थियो । प्रिस्कूलको दिक्षान्त समारोहमा २६ जना बालबालिका दीक्षित भएका थिए भने,कक्षा ८ को बि एल इ परीक्षा (२०८०) मा ४ जी पी ए ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।




प्रतिक्रिया