काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिन सडकखण्ड आज जेठ ३० गतेदेखि असार ७ गतेसम्म प्रत्येक रात साढे ५ घण्टाका लागि बन्द गरिने भएको छ।
सडकखण्डमा पर्ने बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य सुरु भएकाले रातको समयमा यातायात सञ्चालनमा अस्थायी अवरोध हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।
उनका अनुसार राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधनको आवागमन रोकिनेछ। बिम राख्न ठूला साइजका क्रेन प्रयोग गर्नुपर्ने भएकाले सुरक्षा र कार्य सहजताका लागि सडक बन्द गर्नुपरेको हो।
यस अवधिमा मलेखुतर्फबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनलाई मुग्लिनमै र हलुका सवारीसाधनलाई कुरिनटारमा रोकिने व्यवस्था गरिएको छ। यस्तै, मुग्लिनतर्फबाट मलेखुतर्फ आउने भारी गाडीहरू मलेखुमा तथा हलुका सवारी शितलबजारमा रोकिनेछन्।
राति रोकिएका सवारीसाधनहरू बिहान ३ बजेपछि मात्र गन्तव्यतर्फ जान दिइनेछ। यात्रुहरूलाई असुविधा हुन नदिन वैकल्पिक योजना र सूचना प्रणालीमा सहयोग गरिन प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया