पूर्वराष्ट्रपति भण्डारी सम्मानित रूपमा नै बस्नु उचित हुने एमालेको ठहर

पूर्वराष्ट्रपति भण्डारी सम्मानित रूपमा नै बस्नु उचित हुने एमालेको ठहर

काठमाडौं एक्सप्रेस

काठमाडौँ । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने स्पष्ट पारेको छ । भण्डारी सक्रिय राजनीतिमा फर्कंदा उनले विगतमा गरेका काम पनि विवादमा पर्न सक्ने भएकोले सम्मानित रूपमा नै बस्नु उचित हुने एमालेको ठहर छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२औं अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै भण्डारीका विषयमा थप विवाद र बहस नगर्न निर्देशन पनि दिएका छन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप ब्याख्या गर्दै अपानिमा प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै एमालेले उक्त दृष्टान्तको अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नोदलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन् ’ एमालेको अपानिमा भनिएको छ, ‘भविष्यको कुनैआश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।’

भण्डारीलाई समावेशिताको ‘आइकन’को संज्ञा दिंदै पार्टीको उपाध्यक्षमा हुँदा होस वा राष्ट्रपति हुँदा उनको भूमिका नेतृत्वदायी,विवादरहित र उत्कृष्ट भएकोमा एमालेले उच्च प्रशंशा गरेको छ ।

उल्लेखित भूमिकाको आधारमा भण्डारीलाई राष्ट्रको गहना र एमालेको पनि गहनाको संज्ञा दिंदै सक्रिय राजनीतिबाट टाढै बस्न एमालेले आग्रह गरेको छ । ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न । सिंगैराष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनुहुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव
भएर बस्नुहोस् ’ अपानिमार्फत अध्यक्ष ओलीले भनेका छन्, ‘उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’

Logo