काठमाडौं- गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ११ जनाको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ।
सूचीमा सामाजिक अभियन्ता गीता केसी दर्नालसहित आदिवासी जनजाति, दलित, महिला तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूलाई प्राथमिकता दिइएको पार्टीले जनाएको छ। बन्द सूचीमा दर्नालसँगै करूणा डुम्जन, रेजिना गुरूङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, रूबी खातुन र निशा राजवंशी रहेका छन्।
पार्टी अध्यक्ष दिनेश प्रसाईँका अनुसार सूचीमा चर्चित सेलेब्रिटी नभई समाजमा संघर्ष गर्दै आएका आम नागरिकलाई स्थान दिइएको छ। उनले भने, “हाम्रो प्राथमिकता जनताको दुःख–दर्दसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरू हुन्।”
सामाजिक अभियन्ता दर्नाल ‘साझा सहयात्री’ नामक संस्थामार्फत बलात्कार तथा यौन हिंसामा परेका बालिकाहरूको संरक्षण र पुनर्स्थापनामा सक्रिय छिन्। ऋण लिएर र आफ्ना गहना बेचेर सुरु गरिएको उक्त संस्थामा प्रारम्भमा ९ जना बालिकालाई आश्रय दिइएको थियो भने हाल दर्जनभन्दा बढी बालिकाहरू संरक्षणमा छन्।
दर्नालले यौन हिंसाबाट पीडित बालिकाहरूलाई पुनः जीवनप्रति आशावादी बनाउन शिक्षा, स्वास्थ्य उपचार, खानपान, लत्ताकपडा, माया र आत्मसम्मान प्रदान गर्दै आइरहेकी छिन्।



प्रतिक्रिया