महालक्ष्मी नगर प्रमुखको पाँच दिने चीन भ्रमण : सिटी–टु–सिटी सम्बन्ध विस्तारमा फलदायी

महालक्ष्मी नगर प्रमुखको पाँच दिने चीन भ्रमण : सिटी–टु–सिटी सम्बन्ध विस्तारमा फलदायी

काठमाडौं एक्सप्रेस

ललितपुर । नेपाल–चीनबीच स्थानीय तहको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले चीन भ्रमण गरेको छ ।

स्वदेश फर्किएपछि आज काठमाण्डू एक्सप्रेस डट कमसँग कुरा गर्दै नगर प्रमुख श्रेष्ठले ग्वाङ्डोङ प्रान्त र सेन्जेन सहर केन्द्रित पाँच दिने भ्रमणले नगर–नगर (सिटी–टु–सिटी) सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा सहकार्यका सम्भावनाहरू पहिल्याउन सहयोग पुर्‍याएको बताए ।

नगर प्रमुख श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले ग्वाङ्डोङ प्रान्तीय विदेश मामिला कार्यालयका उपनिर्देशक तथा ग्वाङ्डोङ प्रान्तीय जनसङ्घ फर फ्रेन्डशिप विथ फरेन कन्ट्रिजका उपाध्यक्ष चेन गुआङजुनसँग भेटवार्ता गरेको थियो । उक्त भेटमा चेन गुआङजुनले ग्वाङ्डोङ प्रान्तको आर्थिक सामर्थ्य, नवप्रवर्तन क्षमता तथा अन्तर्राष्ट्रिय सहकार्यको अनुभवबारे जानकारी गराउँदै नेपालसँग ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे। उनले ग्वाङ्डोङ र नेपालबीच व्यापार, संस्कृति, पर्यटन तथा जनस्तरीय आदान–प्रदानका क्षेत्रमा सहकार्यको राम्रो आधार रहेको जनाउँदै महालक्ष्मी नगरपालिकासँग दीर्घकालीन र व्यावहारिक सम्बन्ध विकास गर्ने अपेक्षा व्यक्त गरे। युवामैत्री कार्यक्रम, पर्यटन, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, हस्तकला उद्योग तथा सांस्कृतिक सम्पदा संरक्षण, कला–संस्कृति आदान–प्रदान तथा प्रतिनिधिमण्डलस्तरीय भ्रमणलाई निरन्तरता दिने विषयमा सकारात्मक धारणा व्यक्त गरिएको थियो।

नगर प्रमुख श्रेष्ठले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गर्दै दुई देशबीचको मित्रता ऐतिहासिक र भरोसायोग्य रहेको बताए। उनले स्थानीय तहस्तरमा हुने सहकार्यले कूटनीतिक सम्बन्धलाई व्यवहारिक तहमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। ग्वाङ्डोङ प्रान्तीय निकायहरूसँगको भेटले आर्थिक, व्यापारिक तथा सांस्कृतिक सहकार्यका नयाँ ढोका खोल्ने विश्वास नगर प्रमुखको थियो।

छलफलमा महालक्ष्मी नगरपालिकाको सांस्कृतिक सम्पदा संरक्षण, पर्यटकीय गन्तव्य विकास, हस्तकला उद्योगको प्रवर्द्धन तथा व्यवस्थापनका विषयहरूमा विस्तृत छलफल भएक थियो । यसले महालक्ष्मी नगरपालिकाको स्थानीय पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने सम्भावनालाई बलियो बनाएको छ। प्रतिनिधि मण्डलले सेन्जेन सहरसँग आपसी सम्बन्ध विस्तार गर्न गोन्जाउस्थित नेपाली महावाणिज्य दूतावाससँग समेत समन्वयात्मक छलफल गरिएको जानकारी दिएको छ ।

यसैगरी प्रतिनिधिमण्डलले सेन्जेनस्थित विश्वप्रसिद्ध बौद्ध धार्मिक स्थल हङ फा टेम्पल मा विशेष पूजा–अर्चना गरेको छ। बौद्ध दर्शनमार्फत नेपाल–चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश यस भ्रमणले दिएको छ। त्यसपछि चाइनिज कमिटी अफ सेन्जेनसँग स्वास्थ्य, शिक्षा र फोहोरमैला व्यवस्थापनजस्ता नगरस्तरीय महत्वपूर्ण विषयमा सार्थक छलफल गरिएको छ।

सोह दिन प्रतिनिधिमण्डलले द एक्सपेरिमेन्टल स्कुल अफिलिएटेड टु ससटेक को अवलोकन गर्दै आधुनिक शिक्षा प्रणाली, प्रविधि प्रयोग र व्यवस्थापन शैलीबारे जानकारी लिएको छ। साथै निर्माणाधीन भवन परियोजनाको निरीक्षणमार्फत विकास निर्माण, प्रविधि र व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान गरिएको छ।

प्रतिनिधिमण्डलले सेन्जेन सहरस्थित पर्यटन तथा पुरातात्त्विक सम्पदा व्यवस्थापन विभाग र लुङ्गुङ जिल्लाका जिल्ला प्रमुखसँग भेट गर्दै पर्यटन व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण, हस्तकला उद्योग प्रवर्द्धन तथा दुवै सहरबीच मैत्री सम्बन्ध (फ्रेन्डशिप रिलेसन) स्थापना गर्ने विषयमा विस्तृत छलफल गरेको छ।

सेन्जेनमा आयोजना हुने विभिन्न व्यापार तथा व्यवस्थापन मेलाहरूमा महालक्ष्मी नगरपालिकाका उत्पादन तथा हस्तकला प्रदर्शनीका लागि स्टल राख्ने विषयलाई समेत सकारात्मक रूपमा अगाडि बढाइएको छ।

नगर प्रमुख श्रेष्ठले आफ्नो चीन भ्रमण औपचारिक कूटनीतिक भेटघाटमा सीमित नभई स्थानीय तहस्तरमा प्रत्यक्ष लाभ हुने विषयगत सहकार्य, अनुभव आदान–प्रदान र दीर्घकालीन सम्बन्ध निर्माणमा केन्द्रित भएको बताए ।

नेपाली प्रतिनिधि मण्डलमा नगर प्रमुख श्रेष्ठ, महालक्ष्मी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जयनारायण श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, इन्जिनियर मनिष सुवेदी तथा अरनीको समाजका सुरेशमान महर्जन रहेका थिए ।

Logo