एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ। दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।

सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद् भित्र एमालेको संसदीय दलमा आबद्ध रहने छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ। सहमतिमा नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको उल्लेख छ।

सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन्।

दुवै दलबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायत उपस्थित थिए ।

Logo