अध्यक्ष ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

अध्यक्ष ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

काठमाडौं एक्सप्रेस

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

कार्यकर्ताको गुनासो,पार्टीको नीति,देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउनेछन् । अध्यक्ष ओलीले आजै भदौ २४ गते जेन जीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका,नगरपालिका १,७ र २ नं वडा कार्यलय,मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।

अध्यक्ष ओलीले हिजो र अस्ती दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरेका छन् । यस पटक हरेक वडा कमिटीहरुले अलग अलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

Logo