पब्लिक डिबेटको लागि अध्यक्ष ओली तयार

पब्लिक डिबेटको लागि अध्यक्ष ओली तयार

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका लागि घोषणा भएका उम्मेदवारबीच पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् ।

भावी प्रधानमन्त्रीका लागि घोषणा भएका उम्मेदवारबीच पब्लिक डिबेटको माग भइरहेकाबेला अध्यक्ष ओलीले आफ्नो समर्थन जनाएका हुन् । ‘देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ,’ अध्यक्ष ओलीले आइतबार बिहान भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’

अध्यक्ष ओलीले सार्वजनिक र बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको बताउँदै फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने बताए । ‘यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्,’ अध्यक्ष ओलीको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएको बताउँदै देश जलाउने र देश बनाउने पक्षबीच हुने प्रतिस्पर्धामा आफ्नो पार्टी देश बनाउने तर्फबाट मैदानमा रहेको समेत उल्लेख गरेका छन् ।

Logo