काठमाडौँ, । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकार बिधाता केसीका कृतिहरू प्रदर्शन गरिएको थियो । केसीका अनुसार उनका कृत्ति पाकिस्तान भ्रमण र त्यहाँका अनुभवबाट प्रेरित थिए ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कलाकारको उत्कृष्ट कार्य तथा नेपाली दृष्टिकोणबाट पाकिस्तानको सृजनात्मक प्रस्तुतीकरणको सराहना गरेका थिए । उनले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्दै दूतावास साझा इतिहास, संस्कृति तथा पारस्परिक समझदारी प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको बताएका थिए ।
कलाकार केसीले पाकिस्तानमा सम्पन्न ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम’ मा सहभागिताको आफ्नो अनुभव सुनाएका थिए । उनले पाकिस्तानका विभिन्न स्थानको भ्रमणका क्रममा प्राप्त गरेका समृद्ध कलात्मक, सांस्कृतिक तथा सामाजिक छापहरूले आफ्ना सिर्जनामा कसरी प्रेरणा दिएकाबारे बर्णन गरेका थिए । उनले पाकिस्तानको कला र संस्कृतिप्रति प्रशंसा व्यक्त गर्दै आफ्नो बसाइका क्रममा प्राप्त आतिथ्यताप्रति धन्यवाद दिएका थिए ।
कार्यक्रममा अन्य अतिथिहरूले कार्यक्रम आयोजनाका लागि पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै कलाकार केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता तथा भावपूर्ण अभिव्यक्तिको सराहना गर्नुभएको थियो ।
सो अवसरमा आगामी ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा पाकिस्तान फुड फेस्टिभल आयोजना गरिने घोषणासमेत गरिएको थियो । यसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा तथा परिकार परम्पराको स्वाद लिन अर्को अवसर प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका कर्मचारी र परिवारजनको उपस्थिति थियो । विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धप्रतिको चासोलाई झल्काएको थियो ।



प्रतिक्रिया