निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी कोशी प्रदेशस्तरीय अभिमुखीकरण

निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी कोशी प्रदेशस्तरीय अभिमुखीकरण

काठमाडौं एक्सप्रेस

विराटनगर- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूका लागि विराटनगरमा कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा ‘निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

महासंघकी अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पत्रकारमाथि धम्की तथा आक्रमणका घटनामा दैनिकजसो विज्ञप्ति जारी गर्नुपरेको बताइन्। उनले सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरिन्। डिजिटल प्लेटफर्मको विस्तारसँगै सत्य र विश्वसनीय सूचना जनतासमक्ष पुर्‍याउन चुनौती बढिरहेको उनले उल्लेख गरिन्।

उनले महासंघले निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सातै प्रदेशमा सञ्चालन गर्ने जानकारी दिइन्। कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका चुनौतीबारे छलफल गरिएको थियो। साथै सुरक्षित रहँदै आचारसंहिता पालनामा जोड दिइएको थियो। आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएको उनले बताइन्।

महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले आफूले पनि आचारसंहिता पालना गर्नुपर्ने र अन्यलाई पनि पालना गराउन पहल गर्नुपर्ने बताए। उनले जिम्मेवार र मर्यादित ढंगले रिपोर्टिङ गर्न आग्रह गरे।

महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरे।

महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष लिलाबल्लभ घिमिरेले निर्वाचनका बेला उत्तेजित भएर रिपोर्टिङ नगर्न सुझाव दिए। आचारसंहिता पालनाले पत्रकारलाई सुरक्षित बनाउने उनले बताए।

अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेशका तीन दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण अध्यक्ष निर्मला शर्मा र रविराज बरालले गरेका थिए।

Logo