काठमाडौँ, । फागुन महिना लागेसँगै वैवाहिक लगनगाँठोको मौसम सुरु भएको छ । समाजले सहजै स्वीकार्ने अनेक प्रकारका विवाह यस अवधिमा देखिन्छ–स्वजातीय विवाह, अभिभावक र आफन्तको रोजाइमा हुने विवाह, दाइजो प्रथामा आधारित विवाह, यहाँसम्म कि बालविवाह पनि । यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्य रूपमा ग्रहण गरेको पाइन्छ तर अन्तरजातीय विवाह भने अझै पनि समाजको स्वीकृतिको दायराभित्र पर्न सकेको छैन । युवायुवतीले आपसी समझदारी, प्रेम र स्वतन्त्र निर्णयका आधारमा गर्ने यस्तो विवाहलाई समाजले सहज रूपमा स्वीकार गर्न सकेको देखिँदैन किनभने नेपाली समाजको सबैभन्दा गहिरो, जटिल र दीर्घकालीन संरचना जातीय व्यवस्था हो ।
यो व्यवस्था केवल सामाजिक पहिचानमा सीमित छैन्, यसले सोच, चिन्तन, सम्बन्ध, अवसर, अधिकार र परिवर्तनको सीमा नै निर्धारण गर्छ । जन्मिँदा नै मानिस कुन जातमा पर्छ भन्ने आधारमा उसले जीवनमा के गर्न सक्छ, कोसँग उठबस गर्न मिल्छ, कसरी व्यवहार गर्नुपर्छ र कोसँग विवाह गर्नुपर्छ वा गर्न हुँदैन भन्ने निर्णय समाजले गरिदिन्छ । यही संरचनागत मनोविज्ञानका कारण अन्तरजातीय विवाह आज पनि सामाजिक अस्वीकार, बहिष्कार र हिंसाको केन्द्रमा छ ।
अन्तरजातीय विवाहप्रतिको सामाजिक असहिष्णुता नेपालमा कति गहिरो छ भन्ने कुरा केही प्रतिनिधि घटनाले स्पष्ट देखाउँछन् । काभ्रेका अजित मिजार अन्तरजातीय विवाहकै कारण हत्या गरिए तर विडम्बना–उनको शव आज पनि काठमाडौँस्थित शिक्षण अस्पतालको शवगृहमा न्यायको प्रतीक्षामा छ । मृत्युपछि पनि उनले सम्मानजनक अन्त्य पाउन सकेका छैनन्, जुन राज्य र समाज दुबैका लागि गम्भीर नैतिक प्रश्न हो ।
यस्तै, रुकुम पश्चिमको सोतीमा अन्तरजातीय प्रेम सम्बन्धकै कारण नवराज विकसहित छ जना युवाको हत्या गरी भेरी नदीमा बगाइएको घटना आज पनि नेपाली समाजको सामूहिक स्मृतिमा ताजै छ । यो घटना केवल सामूहिक हत्या मात्र थिएन, यो जातीय अहंकार, सामाजिक क्रूरता र संरचनागत हिंसाको चरम अभिव्यक्ति थियो । यी घटनाहरू अपवाद होइनन् । सप्तरीका मनोज राम–बबिता इसर, सर्लाही बरहथवाका सत्येन्द्र राम–नेहा रौनियार, रौतहटका लक्ष्मण पासवान–रुबी साहजस्ता घटनाहरू पनि अन्तरजातीय सम्बन्धकै कारण हिंसा, बहिष्कार र मृत्युको जोखिममा परेका चर्चित उदाहरण हुन् । यसले देखाउँछ कि समस्या कुनै भूगोल वा समुदायमा सीमित छैन्, यो देशव्यापी जातीय संरचनागत रोग हो ।
चिन्ताजनक कुरा के छ भने यस्ता घटना वर्षमा एक–दुई मात्र होइन्, दर्जनौँको सङ्ख्यामा दोहोरिइरहेका छन् । तर राज्यको तथ्याङ्क प्रणाली, प्रहरीको वर्गीकरण र राजनीतिक संवेदनशीलताको अभावका कारण यी घटनाहरूलाई प्रायः व्यक्तिगत अपराधका रूपमा सीमित गरिन्छ । जातीय हिंसाका रूपमा पहिचान र सम्बोधन हुँदैन । यसरी अन्तरजातीय विवाहका कारण हुने हत्या र हिंसालाई केवल सामाजिक विकृति भनेर छोड्नु पर्याप्त छैन । यो मानव अधिकार, समानता र संविधानले प्रत्याभूत गरेको नागरिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो—जसको स्पष्ट स्वीकारोक्ति, तथ्याङ्क सङ्कलन, कानुनी कठोरता र सामाजिक हस्तक्षेपबिना समाधान सम्भव छैन किनभने कानुनी रूपमा अन्तरजातीय विवाह मान्य भए पनि सामाजिक स्वीकृति नपाएको यथार्थ नेपाली समाजका लागि एउटा गम्भीर चुनौती बनेको छ । त्यसैले आजको प्रश्न अन्तरजातीय विवाह सही कि गलत भन्ने होइन । मुख्य प्रश्न हो–यसलाई समाजले स्वाभाविक, सम्मानजनक र मानवीय अभ्यासका रूपमा कसरी स्वीकार गर्ने ? अर्थात् अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाह दुई व्यक्तिको निजी सम्बन्ध मात्र होइन, यो आजको युगको समाजको शक्ति संरचना, परम्परा, वर्चस्व र मानवीय स्वतन्त्रतामाथि उठ्ने प्रत्यक्ष प्रश्न हो । विशेषतः नेपालजस्तो समाजमा जहाँ जातलाई श्रेष्ठता र हीनताको आधार बनाइएको छ, त्यहाँ फरक जातबीचको विवाहलाई प्रेमको विषयभन्दा बढी सामाजिक विद्रोह वा अपराधका रूपमा हेरिन्छ । यही कारणले अन्तरजातीय विवाह गर्ने जोडीहरूले परिवार, समाज र कहिलेकाहीँ राज्यकै उदासीनताको सामना गर्नुपर्छ । सामाजिक बहिष्कार, मानसिक यातना, आर्थिक असहयोगदेखि हत्या र शारीरिक हिंसासम्मका घटनाहरू अझै पनि घटिरहेका छन् । यसले स्पष्ट गर्छ–समस्या कानुनको अभाव होइन, समस्या सामाजिक सोच र चेतनाको हो ।
सामाजिकीकरण भन्नाले कुनै अभ्यासलाई समाजले सामान्य, स्वाभाविक र स्वीकार्य ठान्ने प्रक्रिया हो । अन्तरजातीय विवाहको सन्दर्भमा यो प्रक्रिया अझै अधुरो छ । समाजले यसलाई अपवाद, लाज, समस्या वा संस्कार विरोधी कार्यका रूपमा बुझिरहेको छ । यसको मूल कारण जातीय मानसिकता हो–‘मेरो जात माथि, तिम्रो जात तल्लो’ भन्ने सोच, जुन पुस्तौँदेखि संस्कारका रूपमा हस्तान्तरण हुँदै आएको छ । यही सोचले मानिसलाई मानिस होइन्, जातको प्रतिनिधि बनाउँछ । जब मानिसलाई जातको सीमामा बाँधिन्छ, तब प्रेम र वैवाहिक छनोट स्वतन्त्र हुन सक्दैन ।
यसर्थ अन्तरजातीय विवाहको सामाजिकिकरणका लागि सबैभन्दा पहिले सकारात्मक सोचको पुनर्निर्माण आवश्यक छ । यो पुनर्निर्माण शिक्षा प्रणालीबाट सुरु हुनुपर्छ । विद्यालय तहदेखि नै जातीय समानता, मानव अधिकार र सामाजिक न्यायका मूल्यहरू पढाइ र व्यवहारमा उतार्नुपर्छ । पाठ्यपुस्तकमा जातीय विभेदको इतिहास, त्यसले सिर्जना गरेको पीडा र त्यसको अन्त्यका लागि भएका सङ्घर्षहरू स्पष्ट रूपमा समेटिनुपर्छ । अन्तरजातीय विवाहलाई असामान्य वा विवादास्पद विषयका रूपमा होइन्, विविध समाजको स्वभाविक मानवीय अभ्यासका रूपमा प्रस्तुत गर्नुपर्छ । शिक्षा केबल ज्ञान दिने माध्यम मात्र होइन, यो सोच निर्माण गर्ने सबैभन्दा शक्तिशाली औजार हो । आज शिक्षाले जे सिकाउँछ, भोलि समाजले त्यही व्यवहार गर्छ ।
समाज परिवारबाट सुरु हुन्छ र परिवारमै जातीय सोच सबैभन्दा कडा रूपमा जरा गाडेको हुन्छ । धेरै अभिभावकहरू अन्तरजातीय विवाहलाई आफ्नै इज्जत र सामाजिक हैसियतसँग जोडेर हेर्छन् । जब विवाहलाई सामाजिक प्रतिष्ठासँग दाँजिन्छ, त्यहाँ हिंसा र अपराध जन्मिन्छ । छोराछोरीको खुसीभन्दा ‘समाजले के भन्छ’ भन्ने डर ठूलो बनाइन्छ । यसैले परिवारभित्र स्वतन्त्र संवाद बन्द हुन्छ । सामाजिकीकरणका लागि परिवारभित्र खुला संवादको संस्कार विकास गर्नु अनिवार्य छ । विवाह, प्रेम र जीवन साथीको छनोटबारे अभिभावक र सन्तानबीच खुलेर कुरा हुनुपर्छ । ‘हाम्रो पालामा यस्तो थिएन’ भन्ने तर्कभन्दा “तिमीले किन यस्तो सोच्यौ ?” भन्ने प्रश्नले चेतनाको ढोका खोल्छ । अन्तरजातीय विवाह गरेका दम्पतीका सकारात्मक अनुभवहरू परिवार र समुदायमा साझा गर्न सकिएमा डर क्रमशः विश्वासमा बदलिन सक्छ ।
सूचना प्रविधिको युगमा सञ्चार माध्यमले अन्तरजातीय विवाहको सामाजिकीकरणमा निर्णायक भूमिका खेल्न सक्छ तर अहिलेको मिडिया प्रवृत्तिले यसलाई प्रायः हिंसा, हत्या, विवाद र बिग्रहसँग मात्र जोडेर प्रस्तुत गर्छ । यसले समाजमा नकारात्मक धारणा अझै बलियो बनाउँछ । मिडियाले सफल, सम्मानीत र सशक्त अन्तरजातीय दम्पतीका कथालाई प्राथमिकता दिनुपर्छ । सिनेमा, टेलिसिरियल, वेब सिरिज र साहित्यमा अन्तरजातीय सम्बन्धलाई समस्या होइन, सामान्य मानवीय सम्बन्धका रूपमा चित्रण गर्नुपर्छ । साथै, भाषा अत्यन्त महत्वपूर्ण छ । ‘तल्लो जात’, ‘उचो जात’, ‘घर बिगार्यो’, ‘इज्जत गयो’ जस्ता शब्दावली सोच निर्माण गर्ने विष हुन् । यस्ता भाषालाई विस्थापित गर्नु नै सामाजिकीकरणको महत्वपूर्ण कदम हो ।
धर्म र संस्कृति पनि प्रायः अन्तरजातीय विवाहको विरोधका औजार बनाइन्छन् । धर्मको गलत व्याख्या गर्दै जातीय विभाजनलाई ईश्वरीय व्यवस्था ठह¥याइन्छ । जबकि अधिकांश धर्मका मूल सन्देश मानव समानता, प्रेम र करुणामा आधारित छन् । धार्मिक र सांस्कृतिक अगुवाहरूले अन्तरजातीय विवाहको विरोध होइन, समर्थन गर्ने स्पष्ट र साहसी भूमिका खेल्नुपर्छ । संस्कृति स्थिर वस्तु होइन, यो समय र समाजसँगै परिवर्तन हुन्छ भन्ने बुझाइ फैलाउनुपर्छ । संस्कृतिको नाममा विभेदको संरक्षण गर्नु संस्कृतिको रक्षा होइन, पतन हो ।
राज्यको भूमिका यहाँ अत्यन्त महत्वपूर्ण छ । अन्तरजातीय विवाह प्रोत्साहनका लागि केबल नगद सहयोग पर्याप्त हुँदैन । विवाहपछि जोडीलाई सुरक्षा, कानुनी सहायता र मनो–सामाजिक परामर्श आवश्यक हुन्छ । धेरै अन्तरजातीय दम्पती विवाहपछि एक्लो र असुरक्षित महसुस गर्छन्, कतिपय अवस्थामा हिंसा वा सम्बन्धबिच्छेदसम्म पुग्छन् । राज्यले उनीहरूलाई उदाहरणका रूपमा होइन, नागरिकका रूपमा संरक्षण गर्नुपर्छ । स्थानीय तहहरूले सार्वजनिक सम्मान, समुदायस्तरीय संवाद कार्यक्रम र जातीय सद्भाव अभियान सञ्चालन गर्नुपर्छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ ।
युवा पुस्ता अन्तरजातीय विवाहको सामाजिकीकरणको सबैभन्दा ठूलो शक्ति हो । आजका युवाहरू पुराना मूल्य र नयाँ चेतनाको सङ्घर्षको केन्द्रमा छन् । यदि उनीहरूले प्रेम, सम्मान र समानतालाई जातभन्दा माथि राख्ने साहस गरे भने समाजको दिशा बदलिन सक्छ । तर यो साहस एक्लै सम्भव हुँदैन । नागरिक समाज, अभियन्ता र सामाजिक सञ्जालले अन्तरजातीय विवाह गर्नेहरूलाई एक्लो नछाड्ने संस्कार विकास गर्नुपर्छ । सामूहिक समर्थनले मात्र व्यक्तिगत साहसलाई सामाजिक आन्दोलनमा रूपान्तरण गर्न सक्छ ।
अन्तरजातीय विवाहको सामाजिकीकरणको अन्तिम लक्ष्य जातीय पहिचान मेट्नु होइन्, संस्कृति नष्ट गर्नु पनि होइन । यसको लक्ष्य मानवलाई जातभन्दा माथि राख्ने समाज निर्माण गर्नु हो—जहाँ विवाह प्रेम, समझदारी र सम्मानको विषय होस्, जातीय गणनाको होइन । जब समाजले ‘कुन जातको हो ?’ भनेर सोध्न छोड्छ र ‘कस्तो मान्छे हो ?’ भनेर सोध्न थाल्छ, त्यही दिन अन्तरजातीय विवाह पूर्ण रूपमा सामाजिकीकृत भएको मान्न सकिन्छ । यसैले अन्तरजातीय विवाह कुनै सामाजिक समस्या होइन, यो समाजको पुरानो रोग निको पार्ने औषधि हो । जातीय विभाजन, छुवाछूत र असमानताले ग्रसित समाजलाई समान, न्यायपूर्ण र मानवीय बनाउने एउटा सशक्त माध्यम हो । यसको सामाजिकीकरण एकै दिन सम्भव हुँदैन । तर शिक्षा, संवाद, संस्कृति, सञ्चार, राज्य र नागरिक चेतनाको संयुक्त प्रयासले यो अवश्य सम्भव छ । अन्तरजातीय विवाहलाई स्वीकार गर्नु भनेको केबल दुई व्यक्तिको सम्बन्ध स्वीकार गर्नु होइन—यो भविष्यको समावेशी र मानवीय समाज रोज्नु हो ।



प्रतिक्रिया