एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

काठमाडौं एक्सप्रेस

गण्डकी । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो । कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकार भएका निकायका प्रतिनिधि, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता छ ।

कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकारअनुरूप काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई सिफारिस गरिने शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले जानकारी दिए । विद्यार्थीको रजिस्ट्रेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने समयसम्म देखिने समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

कार्यशालालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एसइई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिइन् । परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबिच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे कार्यशालामा गहन छलफल हुने उनले विश्वास व्यक्त गरिन् ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले शिक्षाको गुणस्तर सुधार र परीक्षालाई अझ व्यवस्थित बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष डा महाश्रम शर्माले शिक्षाका क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकारअनुसार प्रभावकारी काम गरिरहेको बताए । सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन निरन्तर मेहनत गर्नुपर्ने उल्लेख गरे । उनले पारदर्शी, व्यावहारिक र व्यवस्थित व्यवस्थापनबाट परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने धारणा राखे ।

राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसइई परीक्षालाई प्रविधिमैत्री ढङ्गले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

Logo