नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं एक्सप्रेस

प्रहरी महानिरीक्षक कार्की-सम्बोधन काठमाडौँ, १० वैशाखः प्रहरी महानिरीक्षक दानबहादुर कार्की बिहीबार ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ, । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पारेको छ ।

उनले प्रहरी सङ्गठन नागरिककै सेवामा समर्पित रहेको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइने बताए । आज काठमाडौँको नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी वृत्तको पुनःनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको उक्त भवन नागरिककै सहयोगमा पुनःनिर्माण गरिएको जानकारी दिए ।

महानिरीक्षक कार्कीले घरबाट सुरक्षित रूपमा बाहिरिएको व्यक्ति साँझ पुनः सुरक्षित घर फर्किन सकोस् भन्ने सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको बताए । “हामी नागरिकका सेवक हौँ, नागरिकलाई जुनसुकै बेला आवश्यक पर्ने सहयोग तथा सेवा प्रदान गर्नु हाम्रो दायित्व हो,” उनले भने, “सोही अनुरूप हामी अहोरात्र खटिरहेका छौँ ।”

उहाँले आन्दोलनका क्रममा प्रहरीकै बसोबास गर्ने संरचना जलाइएको स्मरण गर्दै त्यसको पुनःनिर्माणमा नागरिकस्तरबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । “नागरिकको सेवामा खटिँदा घाममा डढेर कालो भएका प्रहरीको बस्ने ठाउँ नै जल्यो, तर पुनः नागरिककै साथले हामीले घर पायौँ,” उनले भावुक हुँदै भने, “नागरिकले हामीलाई घरदेखि दरबारसम्मको साथ दिएका छन्, योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन ।”

उक्त कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पु(याउने विभिन्न महानुभावलाई कदरपत्र एवं प्रशंसापत्र प्रदान गरेका थिए ।

Logo