ललितपुर- वेस्ट विङ्ग माध्यमिक विद्यालयले आफ्नो २१औँ एसईई (कक्षा १०) र ७औँ एसएलसीई (कक्षा १२) ब्याच २०८२ का विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । शनिबार विद्यालय परिसरस्थित सगरमाथा हलमा आयोजित ‘बिदाइ कार्यक्रम २०८३’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष तथा अभिभावक शिक्षक संघका अध्यक्ष नवीन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा वेस्ट विङ्ग सार्वजनिक शैक्षिक गुठीका निमित्त अध्यक्ष कृष्णगोपाल श्रेष्ठ, कोषाध्यक्ष कृष्ण श्रेष्ठ, सदस्य राजेन्द्र अधिकारी तथा गुठियार सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठ लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । साथै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक शिक्षक संघका पदाधिकारीहरू, शिक्षक, कर्मचारी र सञ्चारकर्मीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।








कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विश्वराज श्रेष्ठ लगायत मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । सो अवसरमा कक्षा १० र १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरे । नृत्य प्रशिक्षक भीमसेन रिजालको कोरियोग्राफी र सङ्गीतकार राजेन्द्र महर्जनको प्रशिक्षणमा तयार पारिएका प्रस्तुतिहरूले कार्यक्रमलाई सङ्गीतमय बनाएका थिए ।
विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सामूहिक रूपमा तारा देवीको चर्चित गीत “शुभकामना भरी” प्रस्तुत गर्दा वातावरण भावुक बनेको थियो । सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउन सफल गराउने शिक्षकहरू किरण पोखरेल, लक्ष्मण घिमिरे, हरिकृष्ण श्रेष्ठ, सुरेश कुमार मेहता, पुष्कर विष्ट, प्रविण कार्की, हरि थापा र प्रधानाध्यापक बाबुराज महर्जनलाई विशेष सम्मान गरियो ।
त्यस्तै, आधारभूत तह परीक्षा २०८१ र २०८२ मा विद्यार्थीहरूलाई ‘ए प्लस’ ग्रेड दिलाउन भूमिका खेल्ने शिक्षकहरू सबिना राना, शान्ति कायस्थ, महेन्द्र महर्जन, नमिता थापा, शकुन्तला श्रेष्ठ, रिजु महर्जन र सुस्मिता भण्डारीलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका सचिव बाबुराज महर्जनले विद्यार्थीका लागि कक्षा ११ र १२ जीवन निर्माणको निर्णायक मोड भएको बताए । उनले चिलको संघर्षपूर्ण जीवनको उदाहरण दिँदै विद्यार्थीहरूलाई लगन र अनुशासनका साथ अघि बढ्न प्रेरित गरे ।
प्रमुख अतिथि विश्वराज श्रेष्ठले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई निरन्तरता दिन आग्रह गरे । सभापति नवीन श्रेष्ठले विद्यालयको विकासमा गुठियार, व्यवस्थापन समिति र अभिभावकहरूको सहकार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई माथिल्लो तहको अध्ययनका लागि पनि सोही विद्यालय रोज्न अनुरोध गरे ।
कार्यक्रम भावुक र उल्लासमय वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ ।



प्रतिक्रिया