ललितपुर- महालक्ष्मी नगरपालिका–८ स्थित वेस्ट विङ्ग माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पुनः एकपटक ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका सबै ४६ जना विद्यार्थी नै उत्तीर्ण भई शतप्रतिशत नतिजा कायम भएको हो। यस वर्षको परीक्षामा विद्यालयका छात्र जियस तितालले ४.० जीपीए प्राप्त गर्दै विद्यालय, स्थानीय तह र समग्र शैक्षिक क्षेत्रकै गौरव बढाएका छन्।
विद्यालयले आफ्नो २१औँ ब्याचसम्म आइपुग्दा निरन्तर शतप्रतिशत नतिजा ल्याउने परम्परालाई अक्षुण्ण राखेको छ। विद्यालयको इतिहासमा पूर्ण जीपीए हासिल गर्ने तिताल तेस्रो विद्यार्थी हुन्। यसअघि वि.सं. २०७४ र २०७६ को एसईईमा पनि दुई जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरी विद्यालयको प्राज्ञिक उचाइ बढाएका थिए ।
गत वर्षको एसईईमा महालक्ष्मी नगरपालिकाभर उत्कृष्ट नतिजासहित प्रथम स्थान हासिल गरेको वेस्ट विङ्गले यस वर्ष पनि आफ्नो साख जोगायो ।
गत वर्षको एसईईमा महालक्ष्मी नगरपालिकाभर उत्कृष्ट नतिजासहित प्रथम स्थान हासिल गरेको यस विद्यालयले यस वर्ष पनि आफ्नो साख जोगाएको छ। प्रारम्भिक नतिजाअनुसार विद्यालय महालक्ष्मी नगरपालिकामा प्रथम र ललितपुर जिल्लाभरमै नवौँ स्थान हासिल गर्न सफल भएको छ। यसअघि पनि अनिवार्य गणित, विज्ञान, ऐच्छिक गणित र कम्प्युटर जस्ता विषयहरूमा उत्कृष्ट अङ्क ल्याएर विद्यालयले आफ्नो विशिष्ट पहिचान स्थापित गरिसकेको छ।
विद्यालय प्रशासनले यस सफलताको श्रेय विद्यार्थीको कठोर परिश्रम, अभिभावकको निरन्तर सहयोग र शिक्षकहरूको समर्पित मार्गदर्शनलाई दिएको छ। महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका संस्थापक गुठीयार, व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरूको साझा प्रयासले नै यो उपलब्धि सम्भव भएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूको अभूतपूर्व सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल बाबुराज महर्जनले उत्तीर्ण सबै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए । उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य र उच्च शैक्षिक प्रगतिको कामना गर्दै आगामी दिनमा पनि विद्यालय, समाज र राष्ट्रका लागि योगदान दिन अपिल गरे ।



प्रतिक्रिया