अभावसँग लड्दै सिर्जनाको उज्यालो खोजिरहेका डम्बर विश्वकर्मा

अभावसँग लड्दै सिर्जनाको उज्यालो खोजिरहेका डम्बर विश्वकर्मा


काठमाडौं – बाजुराको बडिमालिका नगरपालिका–७, जिल्लीको एउटा सामान्य पहाडी बस्तीबाट सुरु भएको सपना आज काठमाडौंको व्यस्त सहरमा पनि उत्तिकै जीवित छ । समयले अनेकौं परीक्षा लियो, परिस्थितिले थुप्रै बाधा खडा गर्‍यो, तर गीत–सङ्गीतप्रतिको उनको मोह कहिल्यै कमजोर भएन । अभाव, संघर्ष र निरन्तर मेहनतको लामो यात्रापछि सर्जक, गायक, रेकर्डिस्ट तथा कलाकार डम्बर विश्वकर्मा नेपाली गीत–सङ्गीत क्षेत्रमा आफ्नो अलग परिचय निर्माण गर्ने अभियानमा निरन्तर लागिरहेका छन् ।

सानैदेखि गीत–सङ्गीतप्रति विशेष आकर्षण भएका विश्वकर्माका लागि कलाकार बन्ने सपना सजिलो थिएन । गाउँको सीमित परिवेश, कमजोर आर्थिक अवस्था र अवसरको अभावले उनको यात्रालाई कठिन बनायो । तर मनभित्रको कलाकारले कहिल्यै हार मानेन । सपना पूरा गर्ने अठोटसहित उनी रोजगारीका लागि मलेसिया पुगे । धेरैका लागि वैदेशिक रोजगारी जीविकोपार्जनको माध्यम बन्ने गर्छ, तर डम्बरका लागि त्यो सिर्जनाको विद्यालय बन्यो ।

मलेसियाको व्यस्त जीवन र कामको चापबीच उनले आफ्ना भावनाहरूलाई शब्दमा उतार्न थाले । पसिनासँगै गीत जन्मिए, एक्लोपनसँगै शब्दहरू कोरिए र सम्झनाहरूले संगीतको रूप लिन थाले । विदेश बसाइका करिब छ वर्षको अवधिमा उनले ३२ वटा गीत सिर्जना गरे । त्यही समय उनले आफ्नो पहिलो गीत ‘भाग्य लेख्ने भाबि’ सार्वजनिक गरे, जसमा उनले आफ्नै स्वर दिएका थिए । पहिलो सिर्जनाले दिएको आत्मविश्वाससँगै उनी गीत लेखनमा झन् सक्रिय बने ।

समय बित्दै जाँदा उनका सिर्जनाहरू बढ्दै गए । हालसम्म उनले करिब ७० देखि ८० वटा गीतमा शब्द सिर्जना गरिसकेका छन् भने करिब १० वटा गीतमा स्वरसमेत दिएका छन् । उनका गीतहरूमा ग्रामीण जीवन, प्रेम, पीडा, विछोड, संघर्ष र मानवीय संवेदनाका विविध पक्षहरू प्रतिबिम्बित हुने गरेका छन् ।

कोरोना महामारीका कारण उनी स्वदेश फर्किन बाध्य भए । नेपाल फर्किएपछि केही समय बाजुरामै बसेर संगीतलाई निरन्तरता दिने प्रयास गरे पनि अपेक्षाअनुसार अवसर प्राप्त हुन सकेन । समयसँगै गतिविधि कम हुँदै जाँदा धेरैले उनलाई बिर्सन थाले । आर्थिक अवस्थाले साथ नदिएपछि उनले मोबाइल मर्मतसम्बन्धी तालिमसमेत लिए । सीप त सिके, तर व्यवसाय सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउन नसक्दा त्यो योजना पनि अधुरै रह्यो ।

यही क्रममा उनको जीवनमा नयाँ मोड आयो । चर्चित संगीतकर्मी बिनोद बाजुरालीले उनलाई काठमाडौं बोलाए । राजधानी आएपछि उनले पुतलिसडकस्थित मालश्री स्टुडियोमा रेकर्डिङ तथा संगीत प्रोडक्सनसम्बन्धी काम सिक्ने अवसर पाए । संगीतका प्राविधिक पक्षहरू सिक्दै जाँदा उनको अनुभव र आत्मविश्वास दुवै बढ्दै गयो ।

काठमाडौंमा उनको दैनिकी संघर्षपूर्ण भए पनि सिर्जनात्मक रह्यो । दिनको समय स्टुडियोमा रेकर्डिङ तथा प्रोडक्सनका काम सिक्दै बित्ने र राति दोहोरी साँझमा काम गरेर जीविकोपार्जन गर्ने उनको दिनचर्या बन्यो । फुर्सदका क्षणहरूमा भने उनी अझै पनि गीत लेखनमै रमाइरहन्छन् । उनका लागि संगीत केवल पेशा होइन, जीवनको अभिन्न हिस्सा बनेको छ ।

पछिल्लो समय उनी शब्दकार मात्र होइन, कलाकारका रूपमा पनि स्थापित हुने प्रयासमा छन् । हालै सार्वजनिक भएको ‘चिया बगान’ बोलको गीत त्यसको उदाहरण हो । उक्त गीतमा उनले आफ्नै शब्द, अभिनय र सिर्जनात्मक योगदान दिएका छन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अभिनय क्षेत्रमा पनि उनको आत्मविश्वास बढ्दै गएको देखिन्छ ।
विश्वकर्मा सिर्जनालाई निरन्तर सिकाइको प्रक्रिया मान्छन् । उनका अनुसार कलाकारले नयाँ र पुराना भन्ने विभाजनभन्दा माथि उठेर सधैं नयाँ सिर्जना गर्ने सोच राख्नुपर्छ । “नयाँ होस् वा पुराना, सबै सर्जकले सिर्जनालाई निरन्तर नयाँ बनाइरहनुपर्छ । सम्मान र माया सबैलाई दिन सिक्नुपर्छ,” उनी भन्छन् ।

उनका विचारमा संगीत क्षेत्र कहिल्यै पूर्ण रूपमा सिकिसकिने विषय होइन । हरेक दिन नयाँ कुरा सिक्ने अवसर हुन्छ । अग्रज कलाकारहरूबाट सिक्ने र नयाँ पुस्तासँग अनुभव साटासाट गर्ने वातावरणले नै कलाकारलाई परिपक्व बनाउँछ भन्ने उनको विश्वास छ ।

करिब एक दशकदेखि गीत–सङ्गीत क्षेत्रमा सक्रिय डम्बर विश्वकर्माको यात्रा आज पनि जारी छ । बाजुराको विकट गाउँदेखि काठमाडौंको सांगीतिक परिवेशसम्म आइपुग्दा उनले अनेकौं आरोह–अवरोह पार गरेका छन् । तर उनको आत्मविश्वास, सिर्जनाप्रतिको समर्पण र संघर्ष गर्ने क्षमता भने अझै कमजोर भएको छैन ।
उनको जीवनकथा केवल एउटा कलाकारको सफलता खोज्ने कथा मात्र होइन, अभावका बीच पनि सपनालाई जीवित राख्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो । आज पनि उनी शब्दमा भावना खोजिरहेका छन्, स्वरमा जीवन सजाइरहेका छन् र अभिनयमार्फत आफ्ना अनुभूतिहरू दर्शकसम्म पुर्‍याइरहेका छन् । सहरका उज्याला बत्तीभन्दा धेरै उज्यालो उनको मनभित्र बलिरहेको सिर्जनाको दीपकले दिएको छ, जसले उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गरिरहेको छ ।

‘चिया बगान’ सार्वजनिक

सर्जक तथा कलाकार डम्बर विश्वकर्माको नयाँ लोकगीत ‘चिया बगान’ सार्वजनिक भएको छ। गीत डम्बर विश्वकर्माको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा अनमोल बस्नेत र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने शब्द डम्बर विश्वकर्माले सिर्जना गरेका हुन्। गीतमा धन बिसीको संगीत, अनमोल बस्नेतको संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो।

भिडियोतर्फ विपिन चौलागाईंको निर्देशन तथा छायाङ्कन रहेको छ। भिडियोमा डम्बर विश्वकर्मा र उर्मिला पन्तले अभिनय गरेका छन्। राजेश कुमारले सम्पादन तथा रङ संयोजन गरेका छन् भने पोस्ट–प्रोडक्सन भिडियो बैंकले गरेको छ।

शब्द सिर्जनासँगै अभिनयमा पनि सक्रिय विश्वकर्माले ‘चिया बगान’ मार्फत आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका छन्। सार्वजनिक भएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Logo