सुनकोशी–मरिन डाइभर्सनको बाँकी कामका लागि पुनः ठेक्का आह्वान

सुनकोशी–मरिन डाइभर्सनको बाँकी कामका लागि पुनः ठेक्का आह्वान

काठमाडौं एक्सप्रेस

काठमाडौं – राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी निर्माण कार्य अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) आह्वान गरेको छ।

जलस्रोत तथा सिँचाइ विभागले सोमबार बाँध, विद्युत्गृह, सिभिल तथा हाइड्रोमेकानिकल संरचनालगायतका बाँकी कामका लागि नयाँ ठेक्का प्रक्रिया सुरु गरेको हो। यसअघि निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीसँगको सम्झौता अन्त्य भएपछि आयोजना करिब सात महिनादेखि प्रभावित बनेको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयोजनालाई उच्च प्राथमिकतामा राख्दै बाँध र विद्युत्गृह निर्माणको ठेक्का पुनः लगाई चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सिन्धुलीस्थित यो आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ। आयोजना पूरा भएपछि बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्नेछ भने ३१.०७ मेगावाट विद्युत् उत्पादन हुनेछ।

पुनः ठेक्का प्रक्रिया सुरु भएसँगै लामो समयदेखि प्रतिक्षामा रहेको आयोजनाले अब निर्माणको गति लिने अपेक्षा गरिएको छ।

Logo