ग्वार्को-दाहालटार सडकपीडितको मागमा सांसद रामेश्वर श्रेष्ठको समर्थन

ग्वार्को-दाहालटार सडकपीडितको मागमा सांसद रामेश्वर श्रेष्ठको समर्थन

काठमाडौं एक्सप्रेस

काठमाडौं। बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठले सरकारले ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई ‘राष्ट्रिय राजमार्ग’ का रूपमा रूपान्तरण र विस्तार गर्ने तयारी अघि बढाएकोमा गम्भीर आपत्ति जनाएका छन् । विकासको मोडलले स्थानीय सभ्यता, नागरिकको थातथलो र ऐतिहासिक पहिचानलाई विस्थापित गर्नु हुँदैन भन्दै उनले ‘ग्वार्को–दाहालटार सडक प्रभावित सरोकार समिति’ मार्फत स्थानीय जनताले उठाएका मागहरूमा दृढ समर्थन र ऐक्यबद्धता जाहेर गरेका हुन् ।

उक्त सडक खण्डको विस्तार र राष्ट्रिय राजमार्गको मापदण्ड (केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटर र सेडब्याक) कार्यान्वयन गर्दा ऐतिहासिक ग्वार्कोदेखि सिद्धिपुर लुभु हुँदै पनौतीसम्मको प्राचीन नेवारी सभ्यता र जीवित इतिहास संकटमा पर्ने सांसद श्रेष्ठले बताए । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको उल्लेख गर्दै उनले यस्तो स्थलमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्विक मूल्य र मान्यताविपरीत हुने स्पष्ट पारे ।

“संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको यस्तो ऐतिहासिक स्थलमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्विक मूल्य र मान्यताविपरीत हुन जान्छ । विकासले सम्पदाको विनाश होइन, संरक्षण गर्नुपर्छ,” सांसद श्रेष्ठले भने ।

सांसद श्रेष्ठले नागरिकको आवासको अधिकार र पुस्तौँदेखि आर्जेको सम्पत्तिको सुरक्षा लोकतान्त्रिक राज्यको प्राथमिक कर्तव्य भएको स्मरण गराउँदै स्थानीयलाई भूमिहीन वा घरबारविहीन बनाउने नीति न्यायसंगत हुन नसक्ने बताए । भौतिक पूर्वाधारले नागरिकको जीवनस्तर उकास्नुपर्नेमा उल्टै विस्थापनको जोखिम निम्त्याउनु विकासको सर्वमान्य सिद्धान्तभित्र नपर्ने उनको भनाइ छ ।

“भौतिक पूर्वाधारले नागरिकको जीवनस्तर उकास्नुपर्नेमा उल्टै विस्थापनको जोखिम निम्त्याउनु विकासको सर्वमान्य सिद्धान्तभित्र पर्दैन । विकास नागरिकका लागि हो, नागरिकलाई विस्थापित गरेर गरिने विकासको कुनै औचित्य रहँदैन,” श्रेष्ठले थपे ।

भौगोलिक संवेदनशीलता र सांस्कृतिक विशिष्टता भएका क्षेत्रमा द्रुतमार्ग वा राष्ट्रिय राजमार्गको भारी बोकाउनुभन्दा स्थानीय आवश्यकता सुहाउँदो ‘सहरी सहायक मार्ग’ को अवधारणा उपयुक्त हुने भन्दै उनले यसको वैज्ञानिक स्तरोन्नति गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

“ग्वार्को–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गको भारी बोकाउनुभन्दा स्थानीय पर्यावरण, पर्यटन र सांस्कृतिक संवेदनशीलतालाई मध्यनजर गर्दै ‘सहरी सहायक मार्ग’ का रूपमा वैज्ञानिक स्तरोन्नति गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद श्रेष्ठले भने ।

Logo