काठमाडौँ, । नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ ।
नेपाली स्वाद विश्व समुदायमा विस्तार गर्ने पवित्र अभियानमा संलग्न हुनुहुन्छ, वरिष्ठ ‘सेफ’ रामबहादुर खड्का । युगकवि सिद्धिचरण श्रेष्ठको लोकप्रिय कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ जस्तै खड्का पनि रैथाने परिकारमार्फत नेपाली सानिध्यता र प्रेम विस्तार गर्दै आएका छन् । किनकि उनको जन्मथलो पनि ओखलढुङ्गा नै हो ।
मौलिकता र रैथाने स्वादको पछाडि जन्मस्थलले बाल्यकालमा सिकाएको ज्ञान अमिट छापका रुपमा सङ्केन्द्रित भएको छ उनमा । खड्काले नेपाली खानालाई केवल परिकारका रूपमा होइन, नेपाली संस्कृति, परम्परा र पहिचानका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । राजधानीमा उनको कामले नेपाली खानाको प्रवद्र्धनसँगै स्वस्थ भोजन संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ ।
नेपाली, चाइनिज, इन्डियन र कन्टिनेन्टल परिकार बनाउन दक्ष खड्काले करिब २५ वर्षदेखि पाककलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । समयअनुसार नयाँ परिकार सिक्ने, नयाँ प्रविधि अपनाउने र ग्राहकको रुचिअनुसार स्वादमा सुधार गर्दै उनले आफूलाई सफल सेफका रूपमा स्थापित गरेका छन् ।
काठमाडौँको जमलस्थित होटल एलो प्यागोडामा कार्यकारी सेफका रूपमा कार्यरत खड्काले विगत १३ वर्षदेखि होटलको भान्साको नेतृत्व गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पाहुनाका लागि परिकार तयार गर्दै नेपाली आतिथ्य परम्परालाई व्यावसायिक रूपमा प्रस्तुत गरिरहेका छन् ।
नेपाली मौलिक खानालाई अन्तरराष्ट्रियकरण गर्ने अभियानमा संलग्न खड्काले यसलाई एउटा अभियानको रुपमा लिएको उल्लेख र्गन् ।
नेपाली खानाको स्वाद विश्वसामु चिनाउन आफू निरन्तर लागिपरेको उनी बताउछन् । “विदेशी पाहुनालाई सकेसम्म नेपाली खाना चखाउन पाए हुन्थ्यो भन्ने लाग्छ,” उनी भन्छन् । उनका अनुसार नेपाली खानाको स्वाद र पहिचानलाई अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्ने जिम्मेवारी सेफहरूको पनि हो ।
ओखलढुङ्गादेखि राजधानीसम्मको यात्रा
विसं २०३६ पुस २८ गते ओखलढुङ्गामा जन्मिनुभएका खड्कालाई बाल्यकालदेखि नै सेफले लगाउने सेतो कोटले आकर्षित गथ्र्यो । उच्च शिक्षा र रोजगारीको खोजीमा करिब २५ वर्षअघि काठमाडौँ आउँदा जीवन अहिले जस्तो सहज थिएन ।
उनी सम्झन्छन्, “काठमाडौँको एउटा सानो खाजाघरमा सरसफाइ गर्ने कामबाट मासिक रु ३०० तलबमा सुरु भएको यात्रा आज राजधानीका प्रतिष्ठित होटलसम्म आइपुगेको छ ।” भान्सामा सेतो कोट लगाएर खाना बनाउने सेफप्रतिको सम्मानले यो पेसामा लाग्ने प्रेरणा दिएको उनी सुनाउछन् ।
“नयाँ ठाउँ, नयाँ काम र अनेक दुःख थिए तर जस्तोसुकै कठिनाइ आए पनि सेफ बन्ने सपना कहिल्यै छोडिनँ,” उनी भन्छन् ।
कामसँगै विभिन्न तालिम लिएर उनले चाइनिज, इन्डियन, कन्टिनेन्टल र नेपाली परिकार बनाउने सीप हासिल गरेको सुनाए । निरन्तरको अभ्यास र मेहनतले उनलाई आजको स्थानमा पु¥याएको हो । खड्का यसलाई निरन्तरताको यात्राका रुपमा अथ्र्याउछन् ।
स्वस्थ भोजनप्रति बढ्दो सचेतना
खड्काका अनुसार अहिले मानिस स्वस्थ खानाप्रति पहिलेभन्दा धेरै सचेत भएका छन् । चिल्लो र अत्यधिक मसलेदार भोजनभन्दा उमालेको वा कम मसला प्रयोग गरिएको परिकार रोज्ने प्रवृत्ति बढ्दै गएको उहाँनको अनुभव छ ।
“हामीले बनाउने खानाले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ,” उनी भन्छ, “त्यसैले सबैले सन्तुलित र स्वस्थ भोजनमा ध्यान दिनुपर्छ । यसमा सेफको भूमिका अझ जिम्मेवार हुन्छ ।”
रैथाने खानाको पहिचान जोगाउनुपर्ने
पछिल्लो समय कोदो, फापर, केराउलगायत रैथाने उत्पादनबाट तयार हुने परिकारलाई होटल उद्योगमा अझ व्यापक रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
“हामीसँग आफ्नै खानाको छुट्टै सभ्यता, इतिहास र पहिचान छ,” उनी भन्छन्, “यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्न सेफले नयाँ प्रयोग गर्दै यसको प्रवद्र्धन र प्रचारमा ध्यान दिनुपर्छ ।”
नेपालमै अवसर देख्ने सेफ
विदेश जाने सोच छ कि छैन भन्ने प्रश्नमा खड्का नेपालमै बसेर काम गर्न चाहेको बताउनुहुन्छ । लामो समयसम्म विभिन्न विदेशी पाहुनालाई आफ्नो पाककलाको स्वाद चखाएका कारण विदेशबाट अवसर आए पनि नेपाल नछाड्ने निर्णय गरेको उनको भनाइ छ ।
“विदेशबाट अवसर आएका थिए तर नेपाल छोड्न सकिनँ,” उनी भन्छन् । अहिले उहाँ आफ्नो संस्थालाई अझ सुदृढ बनाउने, युवा सेफलाई प्रेरित गर्ने र नेपाली खानाको व्यावसायिक मूल्य बढाउने काममा केन्द्रित छन् ।
नयाँ पुस्ताका लागि ठूलो सम्भावना
पछिल्ला दिनमा विद्यालय र कलेजमा पाककलाको अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनी यो क्षेत्र सम्भावनाले भरिएको बताउछन् । “यो क्षेत्र पनि एउटा कला हो,” उनी भन्छन्, “निरन्तर सिक्दै, नयाँ स्वाद र नयाँ शैलीमा काम गर्दै जाँदा आफ्नै छुट्टै पहिचान बनाउन सकिन्छ तर त्यसका लागि मेहनत, लगनशीलता र धैर्य अनिवार्य हुन्छ ।”
ओखलढुङ्गाको सामान्य गाउँबाट सेतो कोट लगाउने सपना बोकेर राजधानी आएका खड्काको यात्रा सङ्घर्ष, धैर्य र आफ्नो पेसाप्रतिको समर्पणको प्रेरणादायी उदाहरण बनेको छ । विगतको जस्तै आज पनि उनी त्यही उत्साहका साथ भान्सामा उभिएर नयाँ स्वाद सिर्जना गर्न र नेपाली खानाको गरिमा अझ उँचो बनाउन निरन्तर लागिरहेका छन् ।
उनले यो पेसालाई थप विस्तार गर्न सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए । “सेतो कोटको आफ्नै गरिमा र मर्यादा छ । सेफ असाध्यै सम्मानित पेसा हो । काम पाइएन भनेर निराश भएर नबसौँ । काम सिकौँ, अवसर तपाईंलाई पछ्याउँदै आउँछ,” उनले भने ।
नेपाल र नेपालीको परिचय विश्व समुदायलाई दिलाउने उपयुक्त माध्यम भनेकै मौलिक परिकार हो । त्यसमा सेफको भूमिका झनै महत्वपूर्ण हुने भएकाले यसलाई थप विस्तारित गर्दै परिस्कृत गर्नु आजको आवश्यकता भएको खड्काले सुनाए ।



प्रतिक्रिया