काठमाडौँ, । प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताएका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उनले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा विदेशिन बाध्य भएको बताए ।
“युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ, व्यवसाय दर्तादेखि कर तिर्नसम्मका झन्झटिला प्रक्रिया अन्त्य गरी एकद्धार प्रणाली लागू गर्नु अबको आवश्यकता हो”, उनले भने ।
नाइमाका संस्थापक एवं उद्यमी सौरभ ज्योतिले विभिन्न सवारीसाधन देशभित्रै उत्पादन गर्न सकिने बताए । उनले यसका लागि स्थानीय आपूर्ति शृङ्खला र पार्टपुर्जा उद्योगको विकास गर्नुपर्नेमा जोड दिए । उनले उद्योगको आवश्यकता र शैक्षिक पाठ्यक्रमबीच तालमेल नहुँदा दक्ष जनशक्तिको अभाव खड्किएको भन्दै तत्काल पाठ्यक्रम परिमार्जन गर्नुपर्ने धारणा राखे ।
थापाथली क्याम्पसका सहप्राध्यापक लोचनकेन्द्र देवकोटाले विश्वविद्यालयले सैद्धान्तिक ज्ञान दिए पनि व्यावहारिक सीपका लागि उद्योगसँगको सहकार्य अपरिहार्य रहेको बताए । “इन्टर्नसीप, अनुसन्धान र विद्यार्थीका परियोजनालाई उद्योगको समस्या समाधानसँग जोड्न सकेमात्र उत्पादनमुखी जनशक्ति तयार हुन्छन्”, उनले भने ।
पद्मकन्या क्याम्पसका प्राध्यापक भगवती सेढाईँले नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्नुपर्ने बताए । सरकारले ल्याएका उद्यमशीलताका नीतिको व्यावहारिक कार्यान्वयन नभएको भन्दै उनले निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।



प्रतिक्रिया