महालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

महालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

काठमाडौं एक्सप्रेस

ललितपुर — नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रूपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ।

बुधबार नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको ७ दिनको तलब कटौति गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मानवीय सहयोग पुर्‍याउनु नगरपालिकाको दायित्व रहेको बताए। “रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ,” नगर प्रमुख श्रेष्ठले भने, “यस कठिन घडीमा पीडित परिवारको मलमपट्टीका लागि महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ।”

चीनतर्फ हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १६५ जनाको शव फेला परिसकेको छ भने ८२६ जना भन्दा बढी सम्पर्कविहीन रहेका छन्। बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्।

बैठकमा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानासहित कार्यपालिका सदस्यको उपस्थिति थियो।

Logo