खानेपानी पाइप आइपुगेसँगै महालक्ष्मीका जनप्रतिनिधिको मुहारमा चमक

खानेपानी पाइप आइपुगेसँगै महालक्ष्मीका जनप्रतिनिधिको मुहारमा चमक

काठमाडौं एक्सप्रेस

ललितपुर । बिहानको झिसमिसेमै ग्वार्को पुल नजिकैको कर्मनाशा कोरिडोर र कमलपोखरी क्षेत्रमा ठूला आकारका १० इन्चका पाइप बोकेका ट्रकहरू रोकिए । ट्रकबाट ती पाइपहरू झार्दै गर्दा त्यहाँ उपस्थित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरूको अनुहारमा बेग्लै चमक र उत्साह देखियो । वर्षौँदेखि खानेपानीको चरम अभाव झेलिरहेका नगरवासीको प्यास मेटाउने बहुप्रतीक्षित सपना साकार हुने पहिलो खुड्किलो पार भएको क्षण थियो त्यो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका १० वडामध्ये १ देखि ४ नम्बर वडासम्मका बासिन्दाका लागि खानेपानी सधैँ मुख्य टाउको दुखाइको विषय बन्दै आएको छ । हाल भूमिगत स्रोत डिप बोरिङबाट निकालिएको पानीले स्थानीयलाई सामान्य राहत त दिएको छ, तर तीव्र सहरीकरण र बढ्दो जनसंख्याको चापका कारण घरघरमा पर्याप्त खानेपानी पुर्‍याउन नगरपालिकालाई हम्मेहम्मे पर्दै आएको थियो । पानीको यही हाहाकारका कारण स्थानीय बासिन्दा मात्र होइन, स्वयं वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्रीसमेत खानेपानीको माग राख्दै आन्दोलित हुनुपरेको तीतो यथार्थ नगरपालिकासँग छ ।

नगरपालिकाभित्र विकास निर्माणका लागि बजेटको अभाव नभए पनि पानीको दिगो स्रोत नहुनु मुख्य चुनौती बनेको थियो । यही समस्याको दीर्घकालीन समाधान खोज्न पूर्वनगर प्रमुख रामेश्वर श्रेष्ठको कार्यकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सञ्जाल विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो । सोही जगमा टेकेर वर्तमान नगर प्रमुख हरिगोविन्द श्रेष्ठले केयुकेएलसँग निरन्तर समन्वय र सम्झौता गरी मेलम्चीको पानी नगरभित्र भित्र्याउन निर्णायक पहल थाले ।

केयुकेएल ललितपुर शाखा कार्यालय, जावलाखेलले कात्तिक २८मा प्रकाशित गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनाअनुसार ग्वार्को चोकदेखि महालक्ष्मी नगरपालिका–४ कमलपोखरीसम्म २०० मिमी व्यासको डीआई ट्रान्समिसन मेन पाइपलाइन जडानका लागि ‘पीएस निर्माण एण्ड सप्लायर्स’ १ करोड ३४ लाख ५६ हजार ८१० रुपैयाँमा छनोट भएको थियो। सोही ठेक्का सम्झौताअनुसार करिब २ किलोमिटर लामो १० इन्चको मुख्य ट्रंक लाइनको पाइप नगर क्षेत्रमा आइपुगेको हो ।

केयुकेएलले महालक्ष्मी–१ को सम्झना बस्ती, शिव टोल, तिमल्सिना टोल, श्रीकृष्ण टोल तथा महालक्ष्मी–४ को नवसिर्जना टोल, आदर्श प्रगति टोल र चन्द्रागिरि शिवालय टोलमा समेत वितरण पाइपलाइन विस्तारका लागि छुट्टाछुट्टै बोलपत्र स्वीकृत गरिसकेको छ।

पाइप झारिएको स्थलमा पुगेका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले निर्वाचनका बेला नागरिकसमक्ष गरेको खानेपानीको प्रतिबद्धता अब यथार्थमा परिणत हुन लागेको बताए ।

‘हामीले निर्वाचनका बेला नागरिकसमक्ष गरेका प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । नगरपालिकामा विकास निर्माणका लागि बजेटको अभाव थिएन, तर पानीको दिगो स्रोत नहुँदा १ देखि ४ नम्बर वडासम्मका बासिन्दाको अपेक्षाअनुसार खानेपानी पुर्‍याउन कठिन भइरहेको थियो । हामीले खानेपानीका ट्याङ्की निर्माण, स्थानीय स्रोतको संरक्षणसँगै केयुकेएलसँग निरन्तर समन्वय र सम्झौता गरेर मेलम्चीको पानी भित्र्याउन निर्णायक पहल गर्‍यौँ,’ उनी भन्छन्, ‘आज ग्वार्को–कमलपोखरी ट्रंक लाइनको पाइप आइपुगेसँगै नगरवासीको वर्षौँदेखिको काकाकुल अवस्था अन्त्य गर्ने सपना अब साकार हुन लागेको छ।’

पाइप आगमनसँगै निर्माण व्यवसायीले अब चाँडै नै पाइपलाइन विस्तार तथा जडानको काम सुरु हुने जानकारी गराएका छन् । नगर प्रमुख श्रेष्ठसँगै उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्षहरू छिरिङ लामा, ध्रुव केसी, कुबेर केसी, अमृत खत्री, कार्यपालिका सदस्यहरू माधव श्रीमाली, लक्ष्मी दाहाल, भौतिक पूर्वाधार इन्जिनियर लब गुप्ता तथा वडा सदस्यहरू कृष्ण सुवेदी, शशी कुमार महर्जन र दाताराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।

आयोजना समयमै सम्पन्न भई पानी वितरण सुरु भएसँगै महालक्ष्मी नगरपालिकाको खानेपानी संकट समाधानमा कोसेढुङ्गा साबित हुने विश्वास नगरपालिकाले लिएको छ ।

Logo