मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो ।

नेपालले पहिलो खेलमा मलेसियालाई नौ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको मलेसियाको पारी ४०।१ ओभरमा एक सय ४१ रनमा समेटियो ।

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ६ चौकासहित सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि सेलानगोर क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४१।४ ओभरमा सबै विकेट गुमाएर एक सय ७० रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ८६ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए । यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए । सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन जोडे ।

बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिए ।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन् । आसन्न संस्करणको प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह चरणमा नेपालले बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही भदौ १५ गते खेल्ने छ ।

Logo