चितवन । बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोड्ने योजना अघि बढाएको छ ।
स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले प्रभावितको पुनःस्थापना र आत्मनिर्भरतालाई प्राथमिकता दिइएको बताए । पालिकाको क्षमताअनुसार कम्तीमा दुई जना प्रभावितलाई रोजगारीमा जोड्ने तथा उद्योगी, व्यवसायी र होटल व्यवसायीसँग समन्वय गरी रोजगारी सिर्जना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रभावितलाई योग्यता र क्षमताअनुसार रोजगारी, स्वरोजगार वा व्यवसायमा फर्काउने तथा स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन नदिने प्रदेश सरकारको नीति रहेको उनले बताए । प्रभावित क्षेत्रको स्वास्थ्य, शिक्षा र सामाजिक अवस्थाको तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
नुवाकोटको लिखु गाउँपालिकास्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा करिब २०० बालबालिकाका लागि शिक्षा, खाना र आवासको व्यवस्था गरिएको तथा विद्यालय र छात्रावासका लागि करिब रु. १० लाखका सामग्री उपलब्ध गराइएको उनले बताए ।
बाढी प्रभावित नुवाकोटका क्षेत्रमा आवतजावत सहज बनाउन पाँच तुइन सञ्चालनमा ल्याइएको र प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने संघसंस्थालाई सरकारसँग समन्वय गरी दीर्घकालीन संरचना निर्माणमा सहभागी हुन आग्रह गरिएको उनले बताए ।
मौसमी रोग नियन्त्रणका लागि औषधि पठाइसकिएको जनाउँदै मन्त्री तामाङले दसैँ–तिहारलाई लक्षित गर्दै प्रभावितका लागि रोजगार, सीपमूलक तालिम र आवश्यक सहयोगलाई प्राथमिकता दिने बताए ।



प्रतिक्रिया