पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

काठमाडौं एक्सप्रेस

कास्की, । विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।

आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

उनका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो । पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तरराष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ”, अध्यक्ष सिग्देलले भने ।

तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
गण्डकी प्रदेश क्रिकेट सङ्घले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको सङ्घका सचिव सुमनराज कार्कीले बताए ।

“भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तरराष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ । यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना गर्ने वातावरण निर्माण हुनेछ”, सचिव कार्कीले भने ।

Logo