मृतप्रायः जनसम्पर्क समिति बेलायतलाई ब्युँताएर एक सातामै अधिवेशन सम्पन्न

मृतप्रायः जनसम्पर्क समिति बेलायतलाई ब्युँताएर एक सातामै अधिवेशन सम्पन्न

काठमाडौं एक्सप्रेस

लन्डन । लामो समयदेखि आन्तरिक विवाद र ध्रुवीकरणका कारण निष्क्रियजस्तै बनेको नेपाली जनसम्पर्क समिति बेलायतलाई पुनः सक्रिय बनाउँदै एक साताभित्र अधिवेशन सम्पन्न गरिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अधिवेशन गराउने विशेष जिम्मेवारी दिएपछि शेरबहादुर सुनारको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नेपाली कांग्रेसको विधानअनुसार निर्धारित समयभित्र अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएका सुनारका लागि संगठनभित्रको विवाद र सीमित समय प्रमुख चुनौती थिए। तर, उनले विभिन्न पक्षसँग संवाद र समन्वय गर्दै अधिवेशनलाई निष्कर्षमा पुर्‍याएका हुन्।

नेपाली कांग्रेसको राजनीतिमा २०३६ सालदेखि सक्रिय सुनार नेपाली जनसम्पर्क समिति बेलायतका संस्थापक सदस्यमध्ये एक हुन्। उनले अधिवेशनको तयारीका लागि सदस्यसचिव आर.के. त्रिपाठीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता सम्मिलित तयारी समिति गठन गरेका थिए। त्यसपछि अग्रज नेताहरूको सल्लाहकार समिति बनाएर बैठक तथा छलफललाई तीव्रता दिइएको थियो।

अल्डरसटमा आयोजित अधिवेशनमा उद्घाटन सत्र, विधान संशोधन र राजनीतिक प्रतिवेदन पारित गरिएको थियो। केन्द्रबाट थप तीन दिनको समय प्राप्त भएपछि विभिन्न पक्षसँग थप छलफल गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो। अन्ततः हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ।

समितिका नवीकरण गरिएका १,९५७ र नयाँ १६७ गरी कुल २,१२४ सदस्यका आधारमा बेलायतबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि १४ जना प्रतिनिधि चयन भएका छन्। प्रतिनिधिहरूमार्फत पार्टीलाई लेबीबापत ५२ लाख ५७ हजार ८८५ रुपैयाँ पठाइएको जनाइएको छ।

सुनारले अनुशासन, मेहनत र रणनीतिक कार्यशैलीका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्न सफल भएको बताए। उनले अधिवेशन सफल बनाउन सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

नयाँ नेतृत्व चयनसँगै लामो समयदेखि विभाजित अवस्थामा रहेको समितिमा एकता र संगठनात्मक सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

Logo