संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

काठमाडौं एक्सप्रेस

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ ।

हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्व थप बढ्दै गएको छ ।

गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गरेको छ । आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ । महादेव थान संरक्षण समिति गठन गरेर यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासको काम अघि बढाइएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

“महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो”, अध्यक्ष राईले भने, “यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।”

विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला पछिल्लो समय स्थानीयवासीको पहलमा पुनःसञ्चालन गरिएको छ । गाउँपालिकाले विसं २०८० देखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि यस स्थलको धार्मिक गतिविधि थप सक्रिय बनेको छ । विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ तथा भजनकीर्तन हुने गरेको छ ।

गुफासहितको प्राकृतिक बनावटले यस क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताए । यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति रहेका छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस स्थललाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले बताए ।

वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उनले जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्नसके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने वडाध्यक्ष विष्टको भनाइ छ । https://nepalnews.com/2026/10/13/mahadev-than-is-becoming-a-religious-tourist-destination-with-conservation/

Logo