भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

काठमाडौं एक्सप्रेस

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ ।विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए । उनले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएकी थिइन्। उनका अनुसार मन्त्री र अन्यबाट गुनासो आएपछि मन्त्री गौतमसहित आफूहरूले विमानस्थल परिसरको अनुगमन गरेको उनले बताइन् ।

गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताए । उनले भने, “विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन गर्‍यौँ । सुधार्ने प्रतिबद्धता गराइएको छ ।” समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरूले पाएको उनले बताए।

यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उनी चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरू गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिए । बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झण्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो ।

कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । अनुगमनपछि काम भइरहेको उनले जानकारी दिए । सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पुर्‍याउन नसकिएको उनको भनाइ थियो ।

Logo