काठमाडौँ, । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका छन् ।
छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरुले सो धारणा राखेका हुन् ।
उनीहरुले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगबाट किसानको समृद्धि सम्भव हुने दावी गरेका छन् । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सरकारले कृषिको आधुनिकीकरण, कृषि बिमा, मलमा अनुदान र डिजिटल कृषिलाई प्राथमिकतामा राखेको बताए।
उनले कृषिमा नवप्रवर्तन, प्रविधिको प्रयोग, बजारसँगको पहुँच र मूल्यको उचित विश्लेषणले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले खाद्य उपभोगमा विविधता बढे पनि कुपोषण, खाद्य असुरक्षा र अस्वस्थकर खानपानको समस्या कायम रहेको बताए ।
उनले जलवायु परिवर्तन, खेतीयोग्य जमिनको क्षयीकरण, कृषि उत्पादन लागतमा वृद्धि र खाद्य आपूर्ति शृङ्खलामा आउने अवरोध नेपालको खाद्य तथा पोषण सुरक्षाका प्रमुख चुनौती बनेको बताए । उनले जलवायु परिवर्तनलाई कृषि र खाद्य सुरक्षाको भविष्यमा प्रभाव पार्ने प्रमुख चुनौतीका रूपमा चित्रण गरे ।
सहसचिव श्रेष्ठले प्रतिहेक्टर वार्षिक ८७ टन माटो बगेर जाने गरेको उल्लेख गर्दै माटो संरक्षणलाई खाद्य सुरक्षा र दिगो कृषिको प्राथमिकतामा राख्नुपर्ने बताए। त्यसैगरी खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले व्यावसायिक कृषि तथा उत्पादन वृद्धिका लागि खेतीयोग्य जमिनको खण्डिकरण रोक्नुपर्ने बताए ।
कार्यक्रममा भोजपुरका सङ्गीता श्रेष्ठ प्रधान, सिरहाका हरिदेवी चौधरी, काभ्रेपलाञ्चोकका लक्ष्मी मुडभरी, लमजुङका केशकुमारी गुरुङ, गुल्मीका मिना ताम्राकार, दैलेखका कल्पनाकुमारी थापा भण्डारी र कैलालीका अमृता डगौरा तथा राससका सहसमाचारदाता भीष्मराज ओझालाई कदरपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।



प्रतिक्रिया