काठमाडौं । तिहार आउँछ। गाउँघर झिलिमिली हुन्छ। आँगनका डिलमा सयपत्री र मखमली ढकमक्क फुल्छन्। दिदीबहिनीका हातमा पूजा सामग्री सजिन्छन्। भाइको निधारमा सप्तरङ्गी टीका र गलामा मखमलीको माला लगाउने दिन आउँछ।
तर मेरा लागि तिहार आएको सात वर्ष भइसके पनि भाइटीका आएको छैन।
हामी दुई दाजुभाइ हौँ। मेरा छ बहिनी छन्। आज हामी दुई भाइ दुई फरक ठाउँमा छौँ। म आफ्नै बाध्यता र जिम्मेवारीमा अल्झिएको छु, भाइ पढाइको सिलसिलामा यूके पुगेको छ। अनि घरमा छन्–हाम्रा छ बहिनीहरू, जो हरेक तिहारमा हामी दुई दाजुभाइ आउने बाटो हेर्छन्।
छ वटा मन, छ वटा प्रतीक्षा र छ वटा आँखाले हरेक तिहारमा एउटै बाटो हेर्छन्—‘दाजुभाई आउँछन् कि ?’
सायद उनीहरूलाई थाहा छ, हामी आउन चाहन्छौँ। सायद उनीहरूलाई यो पनि थाहा छ, परिस्थितिले हामीलाई रोकिरहेको छ । तर मनलाई परिस्थितिको भाषा कहाँ बुझिन्छ र ? मनले त केवल आफन्त खोज्छ, आफ्नो मान्छे खोज्छ, अनि विशेषगरी तिहारको दिन दाजुको बाटो हेर्छ।
हरेक वर्ष तिहार आउँछ । घरको आँगनमा मखमली फुल्छ । सयपत्रीको पहेँलो रङले गाउँघर उज्यालो हुन्छ । बहिनीहरू हाम्रा लागि माला गाँस्छन् होला । थाली सजाउँछन् होला । टीका, अक्षता र फूल तयार पार्छन् होला ।
तर अन्ततः त्यो माला हामी दुई दाजुभाइमध्ये कसैको गलामा पुग्दैन।
समय बित्दै जान्छ । फूल ओइलाउँछन् । तिहार सकिन्छ । आँगन सुनसान हुन्छ । अनि ती मखमली र सयपत्रीका माला, जुन दाजुभाइको प्रतीक्षामा गाँसिएका थिए, लगाउन नपाई ओइलाएर जान्छन् ।
मलाई कहिलेकाहीँ लाग्छ—फूल मात्रै ओइलाएका हुन् र ?
सायद ती फूलसँगै बहिनीहरूको प्रतीक्षा पनि अलिअलि ओइलाउँदै गएको छ।
सात वर्ष लामो समय हो । सातवटा तिहार, सातवटा भाइटीका, सातवटा प्रतीक्षा । कति पटक उनीहरूले मनमनै सोचे होलान् —‘यसपालि दाजु भाई पक्कै आउनुहुन्छ होला ।’
तर हामी पुग्न सकेनौँ ।
कहिले म टाढा भएँ, कहिले भाइ समुद्रपारि यूकेमा । हामी दुई भाइका आ–आफ्नै बाध्यता भए । जीवनले आफ्नो बाटो बनाउँदै लग्यो । तर घरको आँगनमा बहिनीहरूको प्रतीक्षा भने त्यहीँ रोकियो ।
मलाई सबैभन्दा बढी पीडा यस कुराले दिन्छ कि बहिनीहरूले हामीसँग केही मागेका छैनन्। उनीहरूले धन, कपडा वा महँगा उपहार खोजेका छैनन् । उनीहरूको चाहना त केवल यति हो,दाजुभाई आऊन्, निधारमा टीका लगाइदिऊन्, गलामा माला लगाइदिऊन् र केही बेर छेउमा बसेर हाँसून् ।
सायद संसारको सबैभन्दा महँगो उपहार पनि त्योभन्दा ठूलो हुँदैन।
समयले हामीलाई टाढा बनाएको छ । जिम्मेवारीले बाँधेको छ । बाध्यताले भेटघाटका दिनहरू खोसेको छ । भाइलाई समुद्रपारिको यूकेले रोकेको छ, मलाई आफ्नै परिस्थितिले । तर दूरीले सम्बन्ध कहाँ मेटाउन सक्छ र ? बहिनीहरूको सम्झना हाम्रो मनमा उस्तै छ, जसरी बाल्यकालमा उनीहरू हाम्रा वरिपरि घुमिरहेका हुन्थे।
बाल्यकालका ती तिहार सम्झन्छु ।
टीका लगाउनुअघि बहिनीहरूबीच हुने हाँसो, कसले पहिले टीका लगाउने भन्ने हतार, मखमलीको माला लगाउँदा आउने त्यो सुगन्ध, अनि टीका लगाएपछि पाइने दक्षिणाभन्दा पनि दाजुको हातबाट पाउने सानो मायाको आशा—ती सबै सम्झँदा आज पनि मन भारी हुन्छ ।
त्यतिबेला तिहार कहिल्यै सकिएला जस्तो लाग्दैनथ्यो । हामी सबै एउटै आँगनमा हुन्थ्यौँ । दाजुभाइ र बहिनीहरूको हाँसोले घर भरिएको हुन्थयो । तिहारको खुसीमा दूरी भन्ने शब्द नै थिएन ।
अहिले भने तिहार आउँछ र केही क्षणमै बितेर जान्छ । हामी दुई भाइ दुई फरक ठाउँमा हुन्छौँ । म काठमाडौं, भाइ यूकेमा । तर त्यो छोटो समयभित्र सात वर्षको खालीपन एकैपटक मनमा भरिन्छ ।
कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु—दाजु भएर मैले बहिनीहरूलाई के दिएँ ?
सायद केही दिनको खुसी पनि दिन सकिनँ । उनीहरूको निधारमा आफ्नै हातले टीका लगाउन सकिनँ । मखमलीको माला आफ्नै हातले गलामा पहिर्याउन सकिनँ । उनीहरूको आँखामा हेरेर ‘तिमीहरू हाम्रो लागि कति प्रिय छौ’ भन्न पनि सकिनँ।
भाइले पनि यूकेको कुनै चिसो शहरमा बसेर यही कुरा सम्झिरहेको होला । तिहारको दिन उसले पनि फोनको पर्दामा बहिनीहरूको अनुहार हेर्दै होला । घरको आँगन, मखमलीको माला र बहिनीहरूको हातको टीका सम्झिँदै होला।
सायद उसलाई पनि लाग्दो हो—‘कति टाढा आएँ म आफ्नो घरबाट।’
तर एउटा कुरा भने सत्य हो—टाढा भए पनि उनीहरू हाम्रो मनबाट कहिल्यै टाढा भएका छैनन्।
तिहारको दिन जब अरू दाजुभाइ आफ्ना बहिनीको हातबाट टीका लगाइरहेका हुन्छन्, म पनि कतै कुनामा बसेर आफ्ना छ बहिनीलाई सम्झिरहेको हुन्छु । सायद भाइ पनि यूकेमा बसेर उही क्षण सम्झिरहेको हुन्छ । कल्पना गर्छु—कसैले थाली सजाउँदै होली, कसैले मखमलीको माला हातमा लिँदै होली, कसैले ढोकातिर हेर्दै होली ।
र सायद मनमनै भन्दै होली—
‘दाजुभाई आज आउनुहुन्छ कि ?’
त्यो प्रश्नको उत्तर दिन हामी सात वर्षदेखि असफल छौँ ।
तर बहिनीहरू, यदि यो लेख कहिल्यै तिमीहरूको आँखासम्म पुग्यो भने यति बुझिदिनू—दाजुभाइ टाढा हुनु भनेको माया टाढा हुनु होइन।
तिमीहरूले हाम्रो प्रतीक्षामा गाँसेका मखमलीका माला हरेक वर्ष ओइलाए होलान्। सयपत्रीका फूलहरू पनि झरे होलान्। तर तिमीहरूप्रतिको हाम्रो माया कहिल्यै ओइलाएको छैन।
भाइ यूकेमा भए पनि उसको मन यही घरको आँगनमा छ । म टाढा भए पनि मेरो सम्झनामा तिमीहरू नै छौ । दूरीले हाम्रो शरीरलाई अलग पारेको होला, तर बाल्यकालमा गाँसिएको त्यो सम्बन्धको धागो आज पनि उस्तै बलियो छ।
मलाई थाहा छैन, अब कुन तिहारमा त्यो सात वर्षको दूरी मेटिन्छ । कुन वर्ष तिमीहरूको हातको टीका हाम्रो निधारमा पर्छ । कुन दिन तिमीहरूले माला लगाउँदै ‘दाजुभाई, ढिला भए पनि आउनुभयो’ भनेर हाँस्नेछौ।
तर एउटा सपना अझै बाँचेको छ—
कुनै तिहारमा हामी दुई दाजुभाइ अचानक घरको आँगनमा पुगौँ।
छ बहिनीहरू अचम्म मान्दै हाम्रा वरिपरि झुम्मिऊन् । कसैले रिसाएझैँ गरून्, कसैले आँसु पुछून् । अनि हामी दुवै उनीहरूको हात समातेर भनौँ—
‘सात वर्षसम्म तिमीहरूले कुर्यौ, अब दाजुभाई तिमीहरूको प्रतीक्षा गर्न चाहन्छन्।’
त्यो दिन सायद तिहार साँच्चिकै तिहार हुनेछ।
त्यो दिन मखमलीका माला ओइलाउने छैनन्।
सयपत्रीका फूलहरू केवल फूल हुने छैनन्—सात वर्षदेखि रोकिएको भाइटीकाको साक्षी बन्नेछन्।
र हाम्रो निधारमा लाग्ने त्यो टीका केवल रङ हुनेछैन,
त्यो सात वर्षदेखि छुटेको माया, सम्बन्ध र बहिनीहरूको प्रतीक्षाको टीका हुनेछ।
सायद त्यो दिन हामी दुई भाइले बहिनीहरूको आँखामा हेरेर बल्ल बुझ्नेछौँ—सात वर्षसम्म उनीहरूले हामीलाई होइन, हाम्रो उपस्थितिलाई कुरेका रहेछन् ।
र हामीले पनि बल्ल महसुस गर्नेछौँ—
घरबाट टाढा जान सकिन्छ, तर बहिनीहरूको माया र तिहारको त्यो आँगनबाट टाढा हुन सकिँदैन रहेछ ।



प्रतिक्रिया