विकास आयोजना बुझ्न सभामुख झापामा

विकास आयोजना बुझ्न सभामुख झापामा

काठमाडौं एक्सप्रेस

बिर्तामोड– सभामुख देवराज घिमिरे संसद् स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न सोमबार झापा आइपुग्नुभएको छ ।

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरेले तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रिया, छलफल कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएको छ । सभामुखको सचिवालयका अनुसार उहाँले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता–भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताउनुभयो । ‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,’ उहाँले भन्नुभयो, ‘निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ ।’

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने जानकारी दिनुभयो ।

Logo