मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुख : प्रधानमन्त्री

मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुख : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आम्दा नेपाल, सिद्वार्थ बाल तथा महिला अस्पताल, बुटवलको बिहीबार आयोजित २५ औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रासस

लुम्बिनी, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।

बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्नुहुँदै अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हँुदै गएको दाबी गरे । “हामी ब्याजदरलाई एकल अङ्कमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौंँ”, उनले भने, “विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ । जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ ।”

प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गरे । यसैगरी पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको उल्लेख गर्नुहुँदै आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

“सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ”, उनले भने,“स्वास्थ्य क्षेत्रमा यस्ता धेरै काम अगाडि बढेका छन् जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।”

प्रधानमन्त्री दाहालले निकै ठूलो मेहनत र सङ्घर्षको प्रतिफलबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए । उनले संविधानमा गरिएको उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको उल्लेख गरे ।

उनले रूपन्देही क्षेत्रमा मानवसेवामा समर्पित प्रतिष्ठित जापानी डाक्टर सिगेरू सुगानामी सहितका व्यक्तिको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुवैले आमा र बालबालिकाको स्वास्थ्यमा पु¥याएको योगदानको प्रशंसा गरे ।

“बालबालिका तथा महिलालाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीकोसमेत स्तरीय उपचार गर्नुले अस्पतालको भूमिका महत्वपूर्ण रहेको छ”, उनले भने, “एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिकस्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धिपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।”

Logo