सिन्धुली–मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुँदै

सिन्धुली–मरिण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु हुँदै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सुनकोशी मरिण डाइभर्सनको आज सुरुङमार्ग ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रू गर्दैछन् । उनी हिजै सिन्धुली पुगिसकेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ ।

यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनेछन् ।यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रुपमा हेरिएको छ ।

सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३.३ किलोमिटर रहेको छ ।

सुरुङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले बताए । उनले भने, ‘केही समय भौगोलिक समस्या देखिएर काम रोकिएको थियो । नरोकिएको भए १९ महिनाभन्दा पहिले नै सकिने थियो । सुरुङको ब्रेक थ्रु भए पनि अन्य काम पूरा गर्न अझै करिब १ वर्ष लाग्ने छ ।’

आयोजनाको काम २०७९ असोज २८ गते सुरु भएको थियो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ ।

सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

Logo