महालक्ष्मी नगरबासीलाई बी एण्ड बी हस्पिटलमा २० प्रतिशतसम्म छुट दिने समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी नगरबासीलाई बी एण्ड बी हस्पिटलमा २० प्रतिशतसम्म छुट दिने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं एक्सप्रेस

ललितपुर– ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका स्थायी बसोबासी नागरिकलाई ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलले स्वास्थ्य उपचारमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नगरपालिका र बी एण्ड बी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्बन्धी समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए । समझदारी अनुसार अस्पताल सेवामा १५ लाख भन्दा बढी नभएको कुल बलिमा २० प्रतिशत र फार्मेसी सेवामा १५ प्रतिशत छुट दिने सहमति भएको छ ।

बी एण्ड बी हस्पिटलले नगरका स्थायी बसोबासी नागरिकलाई झण्झटमुक्त सेवा प्रदान गर्ने, न्यूनतम शुल्कमा समान सहुलियत प्रदान गर्ने समझदारी भएको हो ।

समझदारी पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख हरिगोविन्द श्रेष्ठ तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक जगदीश लाल वैद्यले हस्ताक्षर गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल तथा अस्पतालका मेडिकल डाइरेक्टर अशोक कुमार बास्कोटाको उपस्थितिमा भएको सम्झौता सोमबारदेखि नै लागू भएको छ ।

नगरपालिका र अस्पतालबीच भएको समझदारीले स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिए । ‘यस्तो सहकार्यले प्राथमिक स्वास्थ्य सेवा विस्तार, आपतकालीन सेवाको सहज पहुँच तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहयोग पु¥याउँछ,’ उनको भनाइ छ ।

अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक जगदीश लाल वैद्यले महालक्ष्मी नगरपालिकासँग सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै स्थानीय तहको सहयोगले अस्पताललाई दीर्घकालीन रूपमा सक्षम र जनमुखी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

अस्पतालसँग भएको समझदारीबारे महालक्ष्मी नगरपालिकाले आफ्ना नागरिक तथा सेवाग्राहीलाई जानकारी गराउने सहमति भएको छ ।

Logo