किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण

किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण

काठमाडौं एक्सप्रेस

काठमाडौं- क्षयरोग (टीबी) तथा कोभिड–१९ रोगको शीघ्र, प्रभावकारी र गुणस्तरीय परीक्षण तथा निदान सेवा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर र महालक्ष्मी नगरपालिकास्थित किष्ट मेडिकल कलेज ललितपुरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सार्वजनिक–निजी साझेदारी मोडालिटीअनुसार ट्रुनाट प्रविधि प्रयोग गरी क्षयरोग तथा औषधि प्रतिरोधी क्षयरोगको समयमै पहिचान र व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्यका साथ सम्झौता गरिएको हो।

सम्झौतामा केन्द्रका तर्फबाट निर्देशक डा. भुवन पौडेल र किष्ट शिक्षण अस्पतालतर्फबाट अस्पताल निर्देशक प्रा. डा. सुरज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा उक्त मेसिन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्‍याउने नगरपालिकाको लक्ष्यमा ट्रुनाट मेसिनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले स्थानीय तह, स्वास्थ्य संस्था तथा संघीय निकायबीचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौताअनुसार ट्रुनाट मेसिन, आवश्यक कार्ट्रिज तथा सामग्री उपलब्ध गराउने, प्राविधिक सहयोग, गुणस्तर नियन्त्रण, परीक्षणसम्बन्धी प्रोटोकल तथा एस.ओ.पी कार्यान्वयन, मेसिनको मर्मत–वारेन्टी तथा तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिएको छ।

त्यसैगरी किष्ट मेडिकल कलेजले प्रयोगशाला कक्ष, दक्ष जनशक्ति तथा सुरक्षित सञ्चालनको व्यवस्था गर्ने, परीक्षणसम्बन्धी डाटा अभिलेख राखी नियमित रूपमा प्रणालीमा प्रतिवेदन गर्ने, राष्ट्रिय क्षयरोग कार्यक्रमका निर्देशिकाअनुसार सेवा प्रदान गर्ने र टीबी ल्याब सञ्चालनका लागि फोकल व्यक्ति तोक्ने व्यवस्था गर्नेछ। यस सेवाअन्तर्गत रोगीबाट कुनै पनि शुल्क नलिने स्पष्ट गरिएको छ।

Logo