बाजुरा । खप्तड छेडेदह गाउँपालिका–२, बाजुरामा जन्मिएका युवा सर्जक भोपेन्द्र बुढा ‘भुपेन’ अहिले काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् । व्यस्त स्वास्थ्य सेवाको दैनिकीसँगै साहित्यलाई जीवनको अर्को धड्कन बनाएका उनका लागि उपन्यास ‘तिमी आउनु पर्छ’ केवल एउटा पुस्तक होइन, आफूभित्र लामो समयदेखि पलाउँदै आएको सपना, प्रेमको अनुभूति, आत्मसंघर्ष र लेखकीय यात्राको एउटा महत्वपूर्ण मोड हो ।
स्वास्थ्यकर्मीको पेशा, अध्ययन र साहित्यलाई सँगसँगै अघि बढाइरहेका बुढाको साहित्यप्रतिको रुचि भने आजको होइन । कक्षा पाँचमा पढ्दादेखि नै उनको हातमा कलम पुगेको थियो । बाल दिवसको एउटा कार्यक्रममा साथीहरूले कविता तथा गीत प्रस्तुत गरेर पुरस्कार पाएको देखेपछि उनको मनमा पनि एउटा सानो विश्वास जन्मियो—‘म पनि सक्छु ।’
त्यही सानो आत्मविश्वासले उनलाई लेखनतर्फ डो¥यायो । त्यसपछि कविता, गजल र मुक्तक उनका अभिव्यक्तिका माध्यम बने । साहित्यप्रतिको रुचि बढ्दै गयो, पुस्तक पढ्ने बानी गहिरिँदै गयो र विस्तारै लेखन उनको जीवनकै एउटा हिस्सा बन्न पुग्यो ।
तर २०७९ पुस २७ गतेसम्म उपन्यास लेख्ने कुनै योजना भने उनको मनमा थिएन । त्यस दिन पुस्तक पढिरहेका बेला अचानक उनलाई लाग्यो—‘म पनि लेख्न सक्छु ।’ त्यही एउटा अनुभूतिले उनको साहित्यिक यात्रालाई नयाँ मोड दियो ।
“२०७९ पुस २७ गतेसम्म मेरो सपनामा उपन्यास थिएन । तर पुस्तकहरू पढ्दै गर्दा म पनि लेख्न सक्छु भन्ने लाग्यो”, बुढाले आफ्नो लेखकीय यात्राको सुरुवात सम्झँदै भने ।
उपन्यास लेख्नुअघि उनका हातमा कविता, गजल र मुक्तक थिए । ‘जुन र प्रेम’ नामक कविता सङ्ग्रह प्रकाशन गर्ने तयारीसमेत उनले गरेका थिए । साझा प्रकाशनसँग कुराकानी भएर पुस्तक प्रकाशनको विषय अन्तिम चरणमा पुगेको थियो । तर समय र परिस्थितिले उनको साहित्यिक यात्राको बाटो केही मोडिदियो ।
सामाजिक सञ्जालको विस्तारसँगै पुस्तक पढ्ने संस्कृतिमा आएको परिवर्तन र पाठकीय मनोविज्ञानमा देखिएको बदलावलाई महसुस गरेपछि उनले आफ्ना रचनालाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने सोच बनाए । त्यही क्रममा उनले उपन्यास लेख्न थाले ।
‘तिमी आउनु पर्छ’ कुनै पूर्वनिर्धारित कथाबाट जन्मिएको उपन्यास थिएन । त्यसको केन्द्रमा एउटा निश्चित कथाभन्दा बढी एउटा अनुभूति थियो—प्रेमको अनुभूति ।
“सबैजना माया र प्रेमका कुरा गर्छन् । सायद त्यतिबेला म पनि त्यस्तै थिएँ होला”, उनले भने, “कसैसँग बोल्दाबोल्दै प्रेम हो कि भन्ने अनुभूति हुँदै जाँदा लेखिएका प्रेमका मुक्तकहरूले मलाई साहित्यतिर अझ धकेले ।”
उनको साहित्यिक यात्रा भने उपन्यासबाट सुरु भएको होइन । कक्षा पाँचदेखि सुरु भएको लेखनले उनलाई कविता, गजल र मुक्तक हुँदै उपन्याससम्म ल्याइपुर्याएको हो । डिप्लोमा तहको पढाइ सकिनुअघिसम्म उनले उपन्यास लेख्ने सोच बनाएका थिएनन् । तर साहित्यप्रतिको उनको पठन–रुचि भने निरन्तर बढिरहेको थियो ।
नेपाली उपन्यास उनले यति धेरै पढे कि आफूले शैक्षिक अध्ययनमा पढ्नुपर्ने पुस्तकभन्दा साहित्यिक पुस्तक बढी पढेको उनी बताउँछन् । त्यही पठनले उनलाई आफ्नो लेखनप्रति एउटा महत्वपूर्ण धारणा बनाउन मद्दत गर्यो—अरूको लेखनको छायामा आफ्नो सिर्जना उभ्याउनु हुँदैन ।
“कसैको लेखबाट, कसैको सिर्जनाबाट केही कुरा चोर्नु अपराध हो भन्ने मैले बुझेको छु”, बुढाले भने, “त्यसैले मेरो उपन्यासका कुनै शब्द वा हरफ अरू कसैको लेखनसँग मेल खायो भने त्यो मेरो असफलता हुनेछ ।”
आफ्नै भाषा, आफ्नै अनुभूति र आफ्नै कथालाई पाठकमाझ पुर्याउने विश्वासका साथ उनले उपन्यास अघि बढाए ।
तर ‘तिमी आउनु पर्छ’को लेखकीय यात्रा पनि सधैँ सहज रहेन । २०७९ पुस २७ गते सुरु भएको लेखन २०८२ कात्तिक १८ गतेसम्म उनको कल्पनाको संसारमै थियो । पात्रहरू थिए, कथाको संरचना थियो, तर त्यसमा जीवनको गहिराइ अझै थपिन बाँकी थियो ।
त्यही दिन उनको जीवनमा ‘धौली’ आइन् ।
धौलीसँगको भेटपछि उनको लेखनको अर्थ नै बदलियो । उनी पात्रलाई केवल कल्पना गरेर लेखिरहेका थिएनन्, जीवनलाई अनुभूत गरेर लेख्न थाले । त्यसपछि करिब छ महिना उनले केही लेखेनन् । बरु प्रेमलाई बुझ्ने प्रयास गरे ।
“त्यो छ महिनामा मैले प्रेम के हो भन्ने कुरा बुझेँ”, उनले भने, “त्यसभन्दा अगाडिका मेरा प्रेमहरू के थिए, थाहा भएन । सायद केही प्रेम स्कुल जाँदाजाँदै बाटोमै छुटे, केही गोठाला जाँदा छुटे, केही हाट जाँदा छुटे, केही पढाइसँगै छुटे । त्यसलाई मैले प्रेम ठानेको रहेछु, तर त्यो आकर्षण रहेछ । प्रेम के रहेछ भन्ने चाहिँ त्यसपछि मात्रै महसुस गरेँ ।”
त्यही अनुभूतिले ‘तिमी आउनु पर्छ’लाई उनको आफ्नै जीवनसँग जोडिदियो । उनका लागि प्रेम अब केवल शब्द रहेन, अनुभूति बन्यो । उनी भन्छन्, मानिसले भोक, पीडा, अभाव र अनुभूति भोगेपछि मात्रै जीवनका वास्तविक कुरा लेख्न सक्छ । धौलीसँगको सम्बन्ध र त्यसबाट प्राप्त अनुभूतिले उनको लेखनलाई पनि त्यही गहिराइ दिएको उनको विश्वास छ ।
त्यस क्रममा उनले आफ्ना व्यक्तिगत अनुभूतिलाई गजल र कवितामा समेत उतारे । रिस, झगडा, घुर्की र पुनःमिलनका भावनाबाट जन्मिएको एउटा गजलमा उनले प्रेमको त्यही सामान्य तर आत्मीय संसारलाई शब्द दिएका छन्—झगडा पनि उहीसँग, माया पनि उहीसँग ।
बुढाको लेखकीय जीवनमा परिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । साहित्य लेख्दा आफ्नो शैक्षिक पढाइ कमजोर भएको भन्ने भ्रम आफूले कहिल्यै राख्न नदिएको उनी बताउँछन् । कक्षामा सधैँ पहिलो वा दोस्रो स्थानमा रहने विद्यार्थी भए पनि साहित्यका लागि आफूले दिएको समय र मेहनत अझ बढी भएको उनको भनाइ छ ।
डिप्लोमा तहमा साहित्य विषय पढ्दा एकपटक तेस्रो स्थानमा आएपछि उनका बुवाले फोनमा भनेका थिए—‘अझै लेख्न, अझै लेख्न ।’
त्यो वाक्यलाई उनले अर्कै अर्थमा बुझे र केही समय लेखनबाट टाढिए । पछि बुवाले नै स्पष्ट पारे, “मैले तलाई पढाइ नरोकी लेखाइलाई पनि निरन्तरता दे भनेको हो, तँ अर्कै तरिकाले बुझेछस् ।”
त्यसपछि उनले महसुस गरे—आफ्नो लेखनलाई रोक्ने काम अरू कसैले गरेको थिएन, आफूले आफैँलाई रोकेको रहेछ ।
राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न थालेपछि उनले पुनः लेखनलाई निरन्तरता दिए । स्वास्थ्यकर्मीको व्यस्तता, अध्ययनको अनुशासन र साहित्यप्रतिको रुचिलाई सँगसँगै अघि बढाउँदै उनले ‘तिमी आउनु पर्छ’लाई पूर्णता दिए । अहिले भने उनी काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत छन् ।
उपन्यास लेख्ने क्रममा उनका साहित्यिक प्रेरणाका स्रोत पनि कम थिएनन् । विशेषगरी लेखक सुविन भट्टराईका प्रेमिल उपन्यासबाट आफू निकै प्रभावित भएको उनी बताउँछन् । भट्टराईसँग व्यक्तिगत सम्पर्क नभए पनि उनका पुस्तकप्रतिको आफ्नो प्रेमले आफूलाई प्रेमप्रधान उपन्यास लेखनतर्फ प्रेरित गरेको बुढाको स्वीकारोक्ति छ ।
लेखनकै बीचमा उनका अन्य रुचि पनि बाधक बने । उनी क्रिकेटका प्रशंसक हुन्, विशेषगरी भारतीय प्रिमियर लिगको चेन्नई सुपर किङ्सका । महेन्द्रसिंह धोनी खेलिरहेसम्म आफू चेन्नई सुपर किङ्सकै समर्थक रहने उनी बताउँछन् । उपन्यास पूरा गर्ने लक्ष्य बनाएको समयमा समेत चेन्नईको खेलले आफ्नो लेखन तालिका पछि सार्नुपरेका प्रसङ्ग उनले सुनाए ।
तर प्रेमकथामा सीमित भएर बस्ने आफ्नो लेखकीय यात्रा भने नरहेको उनले स्पष्ट पारेका छन् ।
उपन्यास विमोचनका क्रममा प्रमुख अतिथि रमेश विक्रम शाहले युवा लेखकले प्रेमका कथासँगै सुदूरपश्चिमको भूगोल, समाज र त्यहाँका मानिसका कथा लेख्नुपर्ने सुझाव दिएपछि बुढाले मञ्चबाटै त्यसलाई चुनौतीका रूपमा स्वीकार गरे ।
उनले अबको दुई वर्षभित्र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने अर्को उपन्यास लेख्ने घोषणा गरेका छन् । त्यसको नाम उनले ‘कुइँडो’ राखिसकेका छन् । कथावस्तुको संरचना डायरीमा तयार भइसकेको उनले बताए ।
बाजुराको सामाजिक जीवन, दलित समुदायका कथा, उत्पीडित वर्गका आवाज, गाउँका मानिसका भोगाइ, मन्दिर र समाजका विभिन्न तहमा लुकेका कथालाई समेटेर ‘कुइँडो’ तयार गर्ने उनको योजना छ ।
“अबको दुई वर्षभित्र तपाईंहरूले सुदूरपश्चिमको कथा बोकेको एउटा उपन्यास पाउनुहुन्छ”, उनले घोषणा गरे, “बाजुराको कथा, दलितका कथा, उत्पीडित वर्गका कथा र समाजका सम्पूर्ण वर्गका कथा त्यसमा समेटिनेछन् ।”
साहित्यिक सक्रियताबाट केही समय टाढा भए पनि आफूभित्रको लेखन भने कहिल्यै नमरेको उनको भनाइ छ । सामाजिक सञ्जालमा पहिले दैनिक चार–पाँचवटा मुक्तक तथा गजल पोस्ट गर्ने उनी पछिल्लो समय लामो समयसम्म मौन बसे । तर त्यो मौनता सिर्जनाको अन्त्य नभएर आफूलाई नयाँ रूपमा तयार गर्ने समय रहेको उनले बताए ।
उनको साहित्यिक यात्रामा छेडेदह कला साहित्य प्रतिष्ठानको पनि महत्वपूर्ण भूमिका रहेको उनले स्मरण गरे । सामान्य गजल र मुक्तक लेख्दै गर्दा खप्तड छेडादह साहित्य प्रतिष्ठानले आफूमा केही सम्भावना देखेर सल्लाहकारको जिम्मेवारी दिएको प्रसङ्ग उनले सम्झिए । प्रतिष्ठान र त्यससँग जोडिएका सर्जकहरूले दिएको माया, साथ र विश्वासप्रति उनले आभार व्यक्त गरे ।
उनले आफ्नो पुस्तक प्रकाशन र विमोचनको यात्रामा सहयोग गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरे । विशेषगरी साहित्यिक क्षेत्रमा आफू औपचारिक रूपमा सक्रिय नभएको समयमा पनि ‘चिन्ता नगर, म छु’ भन्दै साथ दिने अग्रजप्रति उनले कृतज्ञता व्यक्त गरे ।
तर ‘तिमी आउनु पर्छ’को सबैभन्दा गहिरो समर्पण भने उनका आमाबुवाप्रति छ ।
उनले पुस्तकलाई आमाबुवाको सम्झनामा समर्पित गरेका छन् । तर त्यो समर्पण केवल आफ्ना आमाबुवासम्म सीमित छैन । आफ्ना सन्तानका सपनालाई पखेटा दिने सबै आमाबुवाको सम्मानमा समेत पुस्तक समर्पित रहेको उनको भनाइ छ ।
“मेरो जीवनमा मैले पाएको सबैभन्दा ठूलो उपहार मेरा आमाबुवा हुनुहुन्छ”, उनले भावुक हुँदै भने, “आफ्ना इच्छालाई त्यागेर उहाँहरूले मेरा सपनालाई पखेटा दिनुभयो । आफू थाकेर पनि मलाई कहिल्यै थाक्न दिनुभएन । आफू गए पनि मेरो अनुहारमा मुस्कान खोज्नुभयो ।”
उनका शब्दमा ‘तिमी आउनु पर्छ’ केवल प्रेमको कथा होइन, आमाबुवाको त्यागको सुगन्ध बोकेको एउटा आत्मीय यात्रा पनि हो ।
“आज मैले लेखेका प्रत्येक शब्दभित्र उहाँहरूको सङ्घर्षको पसिना छ, प्रत्येक पानाभित्र उहाँहरूको मायाको सुगन्ध बसेको छ”, उनले भने, “जहाँ पुगे पनि, जे गरे पनि त्यसको जरा उहाँहरूको त्याग र संस्कारसँग जोडिएको छ ।”
आमाबुवाको निस्वार्थ माया, अथक त्याग र अनन्त आशीर्वादलाई जीवनको सबैभन्दा अमूल्य सम्पत्ति मान्ने बुढाले ‘तिमी आउनु पर्छ’लाई आफ्ना प्रिय आमाबुवाप्रति असीम श्रद्धा, सम्मान र प्रेमका साथ समर्पित गरेका छन् ।
खप्तड छेडेदह–२, बाजुराको माटोबाट हुर्किएर स्वास्थ्य सेवाको क्षेत्रमा कर्म गर्दै साहित्यमा आफ्नो बाटो खोजिरहेका भोपेन्द्र बुढा ‘भुपेन’को ‘तिमी आउनु पर्छ’ यस अर्थमा एउटा उपन्यास मात्र होइन । यो आफूभित्रको लेखकलाई पुनःखोजेको यात्रा हो—जहाँ प्रेम छ, विरह छ, आत्मसंघर्ष छ, परिवारको माया छ र आफ्नै माटोबाट जन्मिएको अर्को ठूलो साहित्यिक सपनाको घोषणा पनि छ ।



प्रतिक्रिया