पत्रकार शिव भट्टराईलाई सम्मान, लायन्स क्लबले गर्‍यो तीन दशकको पत्रकारिता योगदानको कदर

पत्रकार शिव भट्टराईलाई सम्मान, लायन्स क्लबले गर्‍यो तीन दशकको पत्रकारिता योगदानको कदर

काठमाडौं एक्सप्रेस

सुन्दरहरैँचा, मोरङ, । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि, नागरिक सरोकार, विपद्, शिक्षा, स्वास्थ्य तथा समुदायका सकारात्मक गतिविधिलाई निरन्तर सञ्चारमाध्यममा उजागर गर्दै आएका पत्रकार भट्टराईलाई लायन्स क्लब अफ सुन्दरदुलारीले आफ्नो इन्डक्सन तथा इन्स्टलेसन समारोहमा सम्मान गरेको हो।

सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका भट्टराईले पत्रकारिता मार्फत स्थानीय समुदायका आवाजलाई निरन्तर उठाउँदै आएका छन्। तीन दशक लामो सञ्चार यात्रामा दर्जनौँ संघसंस्था तथा सामाजिक संस्थाबाट सम्मानित भइसकेका भट्टराईलाई लायन्स क्लबले समेत पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।

हसिना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुन्दरहरैँचा अपडेटका सन्चालक भट्टराई समाचार तथा नागरिक सरोकारका विषयमा सक्रिय पत्रकारका रूपमा परिचित छन्। सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय केन्द्रित गतिविधिलाई समाचारका माध्यमबाट नागरिकसमक्ष पुर्‍याउँदै आएका उनको पत्रकारिता यात्रा तीन दशकभन्दा लामो रहेको छ।

यसै अवसरमा लायन्स क्लब अफ सुन्दरदुलारीको वर्ष २०२६/२७ को नयाँ नेतृत्वसमेत चयन भएको छ। महेश चौधरीले क्लबको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। सुन्दरहरैँचा–६ स्थित साना किसान सहकारीको सभाहलमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ सुन्दरदुलारी वर्ष २०२५/२६ का अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघराज पौडेल, तुलसा आचार्य र लक्ष्मीप्रसाद सिग्देल, सचिवमा छवि धमला तथा कोषाध्यक्षमा ध्रुव निरौला चयन भएका छन्। क्लबका विभिन्न जिम्मेवारीमा रहेका ३६ जना सदस्यलाई लायन्स डिस्ट्रिक्ट गभर्नर लायन लीलाप्रसाद चिमरियाले पदस्थापन गराएका थिए। लायन्स क्लब अफ सुन्दरदुलारीले स्थापनाकालदेखि नै रक्तदान, बाढी तथा विपद् प्रभावितलाई सहयोग, राहत वितरण, स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा सक्रियता जनाउँदै आएको छ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, लायन्स डिस्ट्रिक्टका पदाधिकारी तथा लिडरहरू, सामाजिक व्यक्तित्व तथा क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा लायन विकास अधिकारी, नागेश पोखरेल, रोहित शाह, पवित्रा गौतम, लोकेन्द्र ढकाल, हेमन्त भट्टराई लगायतको सहभागिता रहेको थियो। समारोहमा पुरानो कार्यसमितिबाट नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

Logo