त्रिभुवन आर्मी फुटबल क्लबको ९ गोल

त्रिभुवन आर्मी फुटबल क्लबको ९ गोल

काठमाडौं एक्सप्रेस

सुनसरी, । प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सोमबार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ९ गोल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गत शनिबारदेखि धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो । खेलको दोस्रो मिनेटमै दीपा शाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन । त्यसपछि उनले पाँचौँ र २३ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन । सोह्रौँ मिनेटमा विमला चौधरीले गोल थपिन भने १९औँ मिनेटमा जेनिफर रानाले गोल गरिन । खेलको ३२औँ मिनेटमा जेनिफरले पुन व्यक्तिगत दोस्रो गोल गरिन भने ३७ औँ मिनेटमा दीपाले व्यक्तिगत चौथो गोल गरेपछि आर्मीले पहिलो हाफमा ७–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको २० औँ मिनेटमा जेनिफरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन । खेलको ३७ औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० गोल अन्तरले विजयी भएको हो ।

उक्त खेलको ‘म्यान अफ दी म्याच’ आर्मीकी दीपा शाही घोषित भइन । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत आज नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । डि–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Logo