निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाए ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बतए ।

सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । लोकतन्त्र दल र समूह हुँदै नेतामा सीमित बन्न पुगेको छ ।”

देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरुको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उनले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताए ।

जनतालाई केन्द्रमा राखी काम गर्ने इच्छाशक्ति भए जतिसुकै चुनौतीका बीच परिणाम दिन सकिने उदाहरण प्रस्तुत गर्दै साहले जनताकै सहयोगमा निर्वाचन क्षेत्रमा तीन सय किमी सडक बनाउन र २७ हजार घरपरिवारलाई ग्याससहितको चुलो वितरण गर्न सफल भएको घटना सुनाए ।

जनउत्तरदायी, पारदर्शी र कर्तव्य पूरा गर्ने कार्यलाई उच्च महत्व दिने हो भने मधेसभित्रको दुर्गम भनेर चिनिएको आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास अरूका लागि उदाहरण बन्न सक्ने उनले बताए ।

देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताउदै अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क राखे ।

Logo